
२७ साउन २०७६, काठमाडौं
नेकपाको सचिवालय बैठकपछि ३२ केन्द्रीय विभाग र एउटा प्रतिष्ठानमा जिम्मेवारी दिएर परिचालन गर्न खोजेका नेताहरूको रुचि बुझ्ने र त्यही आधारमा कार्यविभाजन प्रस्ताव परिमार्जन गर्ने निर्णय गरेको थियो । केन्द्रीय सदस्यलाई पहिलो, दोस्रो र तेस्रो रुचिका आधारमा धारणा बुझ्ने अनि प्रस्ताव परिमार्जन र व्यवस्थित बनाएर आगामी बैठकमा ल्याउन सचिवालय बैठकले निर्देश गरेको थियो ।
नेकपाका विधान अनुसार केन्द्रीय कमिटीका ६० प्रतिशत नेतालाई भूगोल र ४० प्रतिशत नेतालाई विभागीय जिम्मेवारी दिने व्यवस्था गरेका छन् । यस कार्यतालिका बमोजिम नै ४४१ सदस्यीय केन्द्रीय समिति सदस्यमध्ये प्रदेश पदाधिकारीमा २८, जिल्ला इन्चार्जमा ८३, जिल्ला सहइन्चार्जमा १५२, जिल्ला अध्यक्षमा ४ (कृष्ण राई– काठमाडौं, रामकुमार यादव–सिरहा, अशोक मण्डल–सप्तरी र राजन दाहाल–सिन्धुली र जिल्ला सचिवमा २ (हिमाल शर्मा–काठमाडौं, प्रमोदनारायण यादव–सिरहा) गरी २७२ जना नेतालाई भौगोलिक जिम्मेवारी दिइसकेका छन् ।
नेकपामा अझैंपनि दुई अध्यक्ष र महासचिवबाहेक बाँकी १६६ नेताहरूको कार्यविभाजन हुन बाँकी नै छ । उनीहरूलाई पार्टीले केन्द्रीय विभाग, प्रतिष्ठान, विशेष प्रदेश किमिटी, सम्पर्क विशेष किमिटी, २२ वटा जनवर्गीय संगठनको फ्याक्सन इन्चार्ज लगायतको जिम्मेवारीमा खटाउन खोजेका छन् ।
नेकपा महासचिव विष्णु पौडेलले केन्द्रीय समितिका १६६ नेतासँग पार्टीमा काम गर्न चाहेको पहिलो, दोस्रो र तेस्रो रुचिको सूची तयार पारिरहेका छन् । नेकपामा अहिले पार्टी सचिवालय सदस्यहरु नै महत्त्वपूर्ण पार्टी विभागको नेतृत्व तोकर बसेका छन् ।
वरिष्ठ नेता माधव नेपालले विदेश विभाग, झलनाथ खनालले नीति अध्ययन प्रतिष्ठान वा पाएमा स्कुल विभाग, वामदेव गौतमले संगठन विभाग, नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले स्कुल विभागको नेतृत्व ताकेर बसेका छन्। अर्का सचिवालय सदस्य रामबहादुर थापाले भने सचिवालयमा रहेका नेताहरूले विभागीय जिम्मेवारी नलिई स्थायी समितिबाट विभागीय जिम्मेवारी दिनुपर्ने मत सचिवालय बैठकमा राखेका छन्।
नेकपाको सदस्यीय सचिवालयसहितका ४५ सदस्यीय स्थायी समितिमा ३५ नेतालाई पार्टी नेतृत्वले जिम्मेवारी तय गर्नुपर्नेछ । यसमध्येका सचिवालयका २, स्थायी समितिका १३ जना नेता मन्त्री, संसदीय दल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार छन्। तर दोहोरो जिम्मेवारीको मापदण्ड यसअगाडिको कार्यविभाजनमा लागू नभएपछि यी नेताहरूलाई पनि पार्टी कामको जिम्मा नेकपाले दिनुपर्नेछ । केन्द्रीय विभागको नेतृत्व नेकपाले स्थायी समितिबाट दिने गरी तयारी गरेको छ।
महासचिव पौडेललाई नेताहरूको रुचि बुझेर परिमार्जित कार्यविभाजन प्रस्ताव तयार पार्न जिम्मा दिएर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल विदेश भ्रमणमा निस्केका थिए। दाहाल स्वदेश फर्किसकेका छन् , भने प्रधानमन्त्री ओली आज सिंगापुरबाट फर्किदैछन् ।





