अख्तियार प्रमुखलाई नायब सुब्बाको सूसाइड नोटः ‘घिमिरेज्यू तपाईँ २०० वर्ष बाँच्नुस्!’



२७ साउन २०७६, काठमाडौं

उदयपुर घर भएका एक नायब सुब्बाले आइतबार आत्महत्या गरे।

भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा धाइरहेका मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आत्महत्या गरेका हुन्।

उनी काठमाडौंबाट शनिबार उदयपुरतर्फ हिँडेका थिए।

उनले आत्महत्या गुर्नअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेको नाममा एउटा सूसाइड नोट लेखेका छन्।

उनले त्यहाँ आफू निर्दोष हुँदाहुँदै पनि भ्रष्टाचार मुद्दा लगाइएको भनी विलौना पोखेका छन्। ‘अख्तियार प्रमुख नवीनकुमार घिमिरेज्यूको २०० वर्षको आयु होस्’ उनले सूसाइड नोटमा भनेका छन्।

‘म कसैको दुई रुपैयाँसमेत नखाने चोखो मान्छेलाई भ्रष्टाचारी बनाउन खोजियो। अहिलेसम्म कसैको एक पैसा हिनामिना गरेको छैन, भ्रष्टाचार गर्ने कुरा त परै जाओस्। मलाई भ्रष्टाचारी देख्ने अख्तियार प्रमुख नवीनकुमार घिमिरेज्यू, २०० वर्ष बाँच्नुस्, शुभकामना!,’ सूसाइड नोटमा लेखिएको छ।

उनी शनिबार घर पुगेपछि हराइरहेका थिए। बेपत्ता भएपछि उनलाई दिनभरि खोजी गरिए पनि फेला पार्न सकिएको थिएन।

९२ रोपनी सरकारी जग्गा कीर्ते गरी हाउजिङका नाममा नामसारी गरेको भन्दै नायब सुब्बा आचार्यसहित कलंकी मालपोतका अधिकृत शिवप्रसाद रिमाल, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापा, मीनाकुमारी थापाका वारेश दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम(शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरूद्ध गत जेठमा विशेष अदालतमा मुद्दा परेको थियो।

प्रतिक्रिया दिनुहोस्