कपनमा सबैको मन जितेर बिदा भए इन्सपेक्टर मीन बहादुर कुँवर



२६ साउन २०७६, काठमाडौं

१४ महिना अघि प्रहरी निरीक्षक मीन बहादुर कुँवर क्षेत्री महानगरीय प्रहरी प्रभाग कपनको इन्चार्ज भएर आए । पूर्व अधिकृत झैं उनले पनि प्रहरीको जिम्मेवारी अनुसार काम गरे । तर जनप्रतिनिधि, ब्यापारी, समाजसेवी मात्र होइन संचार माध्यमलाई गर्ने उनको ब्यवहार प्रहरी जस्तो मात्र थिएन ।

नागरिकसँग छिट्टै घुलमिल हुनसक्ने कुँवर सबैको लागि साथीभाई जस्ता थिए । १४ महिनाको अवधिमा उनको काम र ब्यवहारले सबैको मन जिते र छुट्ने बेला सबैको माया पाए ।

कपन क्षेत्रमा बसोबास गर्ने अधिकांश जनप्रतिनिधि, अधिकारकर्मी र विद्यालय संचालकहरुका फेसबुक वालहरु उनलाई गरिएको सम्मान तस्वीरले रङ्गिएका छन् ।

कुँवरको लोकप्रियताको कारण नागरिकलाई गर्ने स–प्रेम ब्यवहार नै हो । उनी जनप्रतिनिधि वा जोसुकै नागरिकले जतिबेला फोन गर्दा समेत हरतरहले परेको सहयोग गर्न तत्पर रहन्थे ।

सामाजिक भावना भएका कुँवरलाई समुदाय–प्रहरी साझेदारी कार्यक्रमले अझ लोकप्रिय बनायो । बिदाई समारोहमा बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईले भने, ‘कुँवरबाट जहिलेपनि मित्रवत ब्यवहार पाईयो वहाँमा प्रहरी अधिकृतको जस्तो दम्भ थिएन । हामीले जुनसुकै बेला सम्पर्क गर्दा पनि नागरिक सुरक्षाको लागि कुनै कसर बाँकी राख्नु भएन ।’

कपन प्रहरी प्रभागमा पहिलो महिला इन्चार्ज सुरक्षा केसी
गल्कोट–७ बाग्लुङमा जन्मिएकी सुरक्षा केसी २०७० चैत ९ गतेबाट प्रहरी निरीक्षक भई नेपाल प्रहरीमा कार्यरत छिन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको मुद्दा शाखाबाट आफ्नो करिअर सुरु गरेकी केसीले ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरमा ईन्चार्ज भई काम गरिसकेकी छिन् । त्यतिमात्र होइन उनले महानगरीय प्रहरी बृत्त बानेश्वरमा फिल्ड अपरेशनमा काम गरेकी केसीसँग महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कालिमाटीमा समेत सेवा गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय बारा र कञ्चनपुरमा काम गरिसकेकी केसी आजबाट महानगरीय प्रहरी प्रभाग कपनको ईन्चार्ज भई पहिलो महिला ईन्चार्जको रुपमा आएकी छिन् ।

प्रहरी निरीक्षक कुँवरको बिदाईमा केसीलाई महिला अधिकारकर्मी, समाजसेवी र जनप्रतिनिधिहरुले स्वागत गरेका छन् । जनप्रिय निरीक्षक कुँवरको कार्यकालपछि जिम्मेवारी सम्हालेकी केसीको कार्यकालको हाम्रो तर्फबाट पनि शुभकामना !

प्रतिक्रिया दिनुहोस्