
२६ साउन २०७६, काठमाडौं/हेम बहादुर खड्का
नेकपाका केन्द्रिय सदस्य तथा नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले युवाको एकता केन्द्र, प्रदेश र जिल्लामा एकैपटक टुंग्याउने तयारी भइरहेको जनाएका छन् ।
उदयपुर जाने सिलसिलामा विराटनगर विमानस्थल पुगेका अध्यक्ष दिपशिखाले विमानस्थलमा स्वागतका लागि आएका युवाहरुसँग कुराकानी गर्दै युवाको एकता साउन महिना भित्रै टुंगोमा पुर्याउने गरि गृहकार्य अगाडी बढेको खुलासा गरेका हुन् । उनीसँगै तत्कालीन वाइसिएल महासचिव सुवोधराज सेर्पाली, सचिवद्वय मिङ्मा डण्डु शेर्पा र पूर्ण भुजेल लगायतको टोली विराटनगर पुगेको हो ।
तत्कालीन वाइसिएल प्रदेश १ इन्चार्ज पूर्ण भुजेल, संयोजक कर्मा पुलामीसहित युवाको टोलीले विराटनगर विमानस्थलमा अध्यक्षसहितको टोलीलाई भव्य स्वागत गरेका थियो भने, धरानमा सुनसरीका युवाहरुले स्वागत गरेका छन् ।
युवा संगठनका एक नेताका अनुसार तत्कालीन वाइसिएलको पदाधिकारी टोली आफ्ना नेता कार्यकर्ताहरुवाट राय सुझाव तथा सल्लाह संकललनका लागि देशभरका युवा नेता तथा कार्यकर्ता बीच पुगेका हुन् । उनका अनुसार पूर्वका विभिन्न जिल्लाहरु उदयपुर, झापा सुनसरी, मोरङ, इलाम लगायतका जिल्लामा पुगेर काठमाडौं फर्कनेछ ।
यसअघि अध्यक्ष दिपशिखाको टोली गण्डकी प्रदेशमा समेत पुगेको थियो । पोखरामा पुगेको पूर्व वाइसिएलको पदाधिकारी टोलीले गण्डकी प्रदेशका नेता कार्यकर्तासँग भेटघाट गरेको थियो ।
युवाको एकता प्रक्रियालाई छिट्टै टुंगोमा पुर्याउन अध्यक्ष दिपशिखाले देश दौडाह सुरु गरेका हुन् । उनले विभिन्न जिल्लामा पुगेर एकता प्रक्रियाबारे सल्लाह सुझाव तथा राय संकलन गर्दै आएका छन् ।
पार्टी एकता पश्चात नेकपाको युवा संगठनको जिम्मेवारी पूर्वमाओवादीले पाएको थियो । माओवादीमा युवा संगठन महत्वपूर्ण फौजी संगठनको रुपमा समेत परिचित थियो भने वाइसिएल अध्यक्ष दिपशिखा एकता पश्चात युवाको संयोजक बनेका हुन् ।





