म्यानमारमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो



२६ साउन २०७६, काठमाडौँ

म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार बिहानसम्म ४८ जनाको मृत्यु भएको पुष्टी भएको छ ।

म्यानमार सहितका दक्षिण एसियाली मुलुकहरुमा बाढी पहिरोका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुनुका साथै हजारौं विस्थापित हुने गरेका छन् । तीमध्ये शुक्रबारको प्राकृतिक प्रकोपले म्यानमारमा अनपेक्षित क्षति गरेको छ ।

बाढी पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको स्थानीय प्रहरीले आइतबार जनाएको छ । ‘अहिलेसम्म मृत्यु हुनेको संख्या ४८ पुगेको छ, बाढी पहिरोमा परेकाहरुको खोजी कार्य अझै पनि जारी छ, ‘पाउङ नगरका प्रशासक जाव मोए औङले भने ।

अत्यधिक वर्षासँगै आएको बाढी पहिरोले मोन, करेन र काचिन राज्यका धेरै पुल तथा सडकमा क्षति पुगेको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान ७ बजेतिर लगातारको वर्षाका कारण पहाडी यस क्षेत्रमा ठूलो बाढी र पहिरो गएको थियो ।

प्रतिक्रिया दिनुहोस्