बूनपा १२ मा मनमोहन जेष्ठ नागरिक भवनको उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न



२५ साउन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा रहेको सार्वजनिक जग्गा संरक्षण गरी नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको नाममा जेष्ठ नागरिक भवनको कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले समुद्घाटन गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि काबा प्रधानमन्त्री पोखरेलले मनमोहन अधिकारीले थालनी गरेको बृद्धबृद्धालाई सम्मान गर्ने परम्पराको स्मृतिलाई ताजा राख्न भवनले भूमिका खेल्ने बताए । बुवाआमालाई सम्मान गर्नु हाम्रो दायित्व हो भन्दै वडा कार्यालयले दायित्व तर्फ अगाडि बढेको बताउँदै समृद्ध नेपालमा संस्कार र संस्कृति पनि समृद्ध बनाउनुपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि नेकपा केन्द्रिय सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराईले एघार महिना अघि आफूले उद्घाटन गरेको भवन समयमै सम्पन्न गरेकोमा धन्यवाद र बधाई दिदैं विकास निर्माणका कामहरुले यसैगरी गति लिनुपर्ने बताए ।

नगरपालिकाका उपप्रमुख रमादेवी राईले नगरपालिकाले व्यक्तिले उपभोग गरिरहेका सार्वजनिक जग्गाहरुको संरक्षण गर्ने अभियान थालेको बताउँदै जो कसैले सार्वजनिक जग्गा उपभोग गरेको भए छोड्न अनुरोध गरिन् ।

स्थानीय समाजसेवी तथा भवन निर्माण समितिका सचिव चित्र कुमार दाहालले अनाधिकृत रुपमा व्यक्तिले ओगटेको जग्गा सार्वजनिक हितको लागि प्रयोग गर्न वडा कार्यालयले दिएको जिम्मेवारी अनुसार समितिले काम गरेको बताउँदै यस भवनमा योगध्यान गर्ने, संगीतमय भजनकिर्तनका कार्यक्रमहरु संचालन गरी जेष्ठ बुवाआमालाई मनोरञ्जन प्रदान गरिने जानकारी गराए ।

बूनपा १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले पूर्व गाविस अध्यक्षले पदीय दुरुपयोग गरी लेटरहेडमा लेखेर व्यक्तिलाई उपभोग गर्न दिएको जग्गा स्थानीय वडावासीको सहयोगमा सार्वजनिक बनाई जेष्ठ नागरिकहरुको हितको लागि उपयोग गर्न वडा कार्यालयले काम गरेको बताए ।

बूनपा १२ मा स्थायी बसोबास गर्ने १०२ बर्षीय रणबहादुर खड्का सहित ७० बर्ष उमेर कटेका वडाभित्रका सबै जेष्ठ बुवाआमालाई दोसल्ला तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

त्यस्तै बूनपा १२ स्थित त्रि–ज्योति उच्च माविमा अध्ययनरत नेपाल भरी हस्तलेखनमा उत्कृष्ट सृष्टि राई र सुप्रिम यादवलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

पुरुषोत्तम नेपालद्वारा संचालित कार्यक्रममा नगरकार्यपालिका सदस्य शान्ता ढकाल पुडासैनीले स्वागत गरेकी थिईन् भने नगरप्रमुख उद्धवप्रसाद खरेल, नेकपा प्रदेश ३ का सदस्य सुन्दर पुर्कुटी, नेकपा जिल्ला सदस्यहरु विदुर विक्रम खड्का, मिठाराम अधिकारी, लक्ष्मी संग्रौला, धुर्वराज न्यौपाने, नेकपा बूढानीलकण्ठ अध्यक्ष रबिन अधिकारी, बिभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, महिला समितिका सदस्यहरु लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्