उत्तर कोरियाले गर्यो एकैसाथ २ मिसाइल परीक्षण



२५ साउन २०७६, काठमाडौं

उत्तर कोरियाले समुन्द्रमा दुई मिसाइल एकैसाथ परीक्षण गरेको छ।

गएका केही सातामा उत्तर कोरियाले परीक्षण गरेको यो पाँचौं मिसाइल भएको बीबीसीले जनाएको छ।

पछिल्लो पटक परीक्षण गरिएको मिसाइल कम दूरीको रहेको दक्षिण कोरियाली सेनाले बताएका छन्। यो परीक्षण पुष्टि भएमा उत्तर कोरियाले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन गरेको ठहरिने छ।

यो परीक्षणको केही समयअघि मात्रै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ उनको तर्फबाट ‘सुन्दर पत्र’ आएको बताएका थिए। अमेरिका दक्षिण कोरियाको जारी संयुक्त सैन्य अभ्यासप्रति किम खुसी नदेखिएको ट्रम्पको भनाइ रहेको थियो।

दक्षिण ह्यामयोङ प्रान्तको पूर्वी शहर हमहुंग नजिकैबाट छाडिएका दुवै मिसाइल पूर्वी कोरियाली प्रायद्वीपको जापान सागरमा गएर खसेको बताइएको छ।

यी दुवै मिसाइल स्थानीय समयअनुसार ५ बजेर ३४ मिनेटमा र ५ बजेर ५० मिनेटमा छाडिएको थियो। दुवैले करिब ४ सय किलोमीटर दूरी तय गरेका दक्षिण कोरियाली सेनाको दाबी छ।

गत जुनमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता भएको थियो। जसमा परमाणु निरस्त्रीकरणबारे सम्झौताका कुरा भएपनि कोरियाले लगातार एकपछि अर्को गर्दै मिसाइल र रकेटको परीक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्