
२५ साउन २०७६, काठमाडौँ
कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने सल्यानको खलंगा–कुपिन्डे–बालुवासंग्रही सडकको कालोपत्रे केही दिनमै उप्किएको छ । गत असारमा गरिएको कालोपत्रे साउने झरीले उप्काएको हो ।
राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम अन्तर्गत निर्माण गरिएको कालोपत्रे अधिकांश ठाउँमा वर्षातको पानीले बगाएको छ । असारमा पानी पर्दापर्दै कालोपत्रे गरिएकाले केही दिनमै उप्किएको स्थानीयले बताएका छन् ।
कम्पनीले दर्जनभन्दा बढी स्थानमा गरेको कालोपत्रे केही दिनमै उक्किएको ज्यामिरेका स्थानीय लालबहादुर ऐरीले बताए । उनले भने, ‘बजेट सिध्याउन रातारात कम अलकत्रा हालेर कालोपत्रे गरियो, पातलो र गुणस्तरहीन भएकाले एक महिना नकट्दै उप्किएको हो ।’
भौतिक पूर्वाधार विकास कार्यालय सुर्खेतका इन्जिनियर तथा खलंगा बालुवासंग्रही सडकका प्रोजेक्ट म्यानेजर गोविन्द महतराले ठेकेदारले काम ढिला सुरु गर्दा समस्या भएको बताए । कालोपत्रे उकिकएको ठाउँमा पुनः मर्मत र डबल ओटासिल गरेपछि मात्रै भुक्तानी पाइने दाबी गरे ।
दुई वर्षभित्र सम्पन्न गर्नेगरी २०७२ मा सुरु भएको योजना १५ महिना ढिलो गरी सम्पन्न भएको छ । २४ करोड ६१ लाख बजेटमा काम सम्पन्न गर्ने सम्झौता भएको हो । अहिले यो सडकखण्डमा साना सवारी साधन सञ्चालन भए पनि ठूला सवारी भने बन्द छन् ।





