अन्तर्राष्ट्रिय युवा दिवसमा युवा नीलकण्ठको ‘विद्यार्थीसँग मेरो १ दिन’



२४ साउन २०७६, काठमाडौं

अन्तर्राष्ट्रिय युवा दिसको अवसरमा बूढानीलकण्ठ नगरपालिकाको युवा अभियान युवानीलकण्ठले साउन २८ गते नगरपालिका भित्र रहेका करिब २५ विद्यालयहरुमा ‘विद्यार्थीसँग मेरो एक दिन’ कार्यक्रम संचालन गर्ने भएको छ ।

बूढानीलकण्ठ नगरपालिकाको संयोजन रहने कार्यक्रम २ सत्रमा विभाजित गरी करिब १ घण्टा संचालन गरिने जनाईएको छ । कार्यक्रममा विद्यालयले व्यवस्था गरेको माध्यमिक तहका कक्षा ९ वा १० का विद्यार्थीलाई पहिलो सत्रमा कक्षा लिन लगाउने र दोस्रो सत्रमा उनीहरुका मनमा उठेको जिज्ञासाको जवाफसँगै अन्तरक्रिया गरिनेछ ।

‘शिक्षामा रुपान्तरण’ भन्ने अन्तर्राष्ट्रिय युवा दिवसको नारालाई सार्थकता दिन युवानीलकण्ठले विद्यार्थीहरुमा व्यवसायिक र जीवन उपयोगी शिक्षाको आवश्यकता महशुस गरी व्यवसायिक व्यक्तिहरुले ‘एक दिन एक पिरियड’ आफ्नो व्यवसायिक अनुभव विद्यार्थीहरुसँग प्रस्तुत गर्ने गरी कार्यक्रम संचालन गर्न लागेको हो ।

कार्यक्रममा युवा उमेर समूहका प्राफेशनलहरुले आफू जस्तै सफल हुनका लागि कसरी लक्ष्य निर्धारण गर्नुपर्छ भन्ने आफ्ना जीवनका अनुभव विद्यार्थीहरुमाझ प्रस्तुत गर्ने जनाईएको छ । यसले विद्यार्थीहरुमाझ आफ्नो लक्ष्य निर्धारणमा सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्