सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुषको सङ्ख्या बढ्दै



२४ साउन २०७६, काठमाडौँ

देवानी संहिता २०७५ लागू भएपछि झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुषको सङ्ख्या बढेको छ ।

२०७५ भदौ १ गतेदेखि लागू भएको देवानी संहितापछि जिल्ला अदालतमा ३०४ वटा सम्बन्धविच्छेदका मुद्दा पुरुषले दर्ता गराएको तथ्याङ्कले देखाएको छ ।

देवानी संहिता लागू भएपछिको ११ महीनाको अवधिमा मात्र सम्बन्धविच्छेदका ८१८ मुद्दा दर्ता भएको अदालतको तथ्याङ्कमा छ । महिलातर्फ ५१४ र पुरुषले ३०४ मुद्दा दर्ता गराएको अदालतका श्रेस्तेदार दुर्गाप्रसाद खनालले बताएका छन्।

उनका अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा पुरुषको तर्फबाट सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्न पाउने कानूनी प्रावधानपछि महिलाकै हाराहारीमा पुरुषको तर्फबाट मुद्दा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

वैदेशिक रोजगारीका कारण सम्बन्धविच्छेदका मुद्दा बढी आउने गरेको वरिष्ठ अधिवक्ता तथा झापा बार एकाइका अध्यक्ष लेखनाथ निरौलाले बताए। उनले अहिलेको कानूनमा पुरुषले सहजै अदालत गएर सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सक्ने कानून बनेपछि यसको सङ्ख्यामा वृद्धि भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्