शहरमा महिलाको भेषमा ‘मेयर’



२४ साउन २०७६, काठमाडौं

नेताहरुले चुनावका बेला घोषणापत्रमा विभिन्न बाचा कसमहरु गर्ने गर्दछन्। चुनावको आफ्नो जितपछि ती कामहरु गर्ने नेताहरु भने विरलै पाइन्छन्।

यस्तै मेक्सिकोका नागरिकले चुनावमा गरेको बाचाबमोजिम काम नगरेको भन्दै एक मेयरलाई महिलाको भेषमा शहर घुमाएका छन्।

गत हप्ता ह्विक्सटान प्रदेशमा रहेको सान आन्ड्रेस पोर्टो रिको शहरका मेयर जाभिइर जिमेनेजलाई नगरवासीले केही दिनसम्म महिलाको भेषमा शहर घुम्न बाध्य पारेका थिए।

गाढा कालो रङको लामो स्कर्ट र सेतो ब्लाउज लगाएर आक्रोशित शहरवासीका अगाडि मेयर जिमेनेज हिँडेका थिए। एक जना नगर अधिकारी लुइस टनले उनलाई साथ दिएका थिए, जो गुलाबी रङको महिला पहिरनमा सजिएका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार चुनावताका जिमेनेजले शहरको खानेपानी प्रणालीमा सुधार गर्न करिब १ लाख ५८ हजार डलर बजेट छुट्याउने वाचा गरेका थिए। तर, यो रकम उनी आफैँले हिनामिना गरेको आरोप लगाइएको छ। महिलाको पोशाकमा शहर घुम्न बाध्य पारिएका मेयरले भने आफू निर्दोष भएको दाबी गर्दै आएका छन्।

रिसाएका नगरवासीले हातमा सरकारको असफलतामाथि खेद प्रकट गरिएका प्लेकार्ड बोकेका थिए। मेक्सिकोमा जनप्रतिनिधिलाई यसै गरी महिलाको पोशाक लगाउन बाध्य पारेर लज्जित तुल्याउने पुरानो परम्परा छ।

प्रतिक्रिया दिनुहोस्