विवाह गर्ने उमेर १८ तोक्न सांसदको माग



२४ साउन २०७६, काठमाडौं

संविधानतः नेपालमा बिहे गर्ने उमेर २० वर्ष तोकिएको छ। तर, सांसदहरुले २० वर्ष नै नपुगी बिहे गर्ने चलन बढेको भन्दै विवाहको उमेर १८ वर्ष तोक्न माग गरेका छन्।

मुलुकी फौजदारी (संहिता) ऐन २०७४ मा बिहे गर्ने उमेर २० वर्ष तोकिएको भएपनि त्यसलाई संशोधन गरेर १८ वर्षमा झार्नुपर्ने उनीहरुले जोडदार माग गरेका हुन्।

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापामगरसँग बुधबार संसद्मा प्रश्न गर्दैै सांसदले पालना हुने नियम बनाउनुपर्ने माग गरेका हुन्।

नेमकिपाका सांसद प्रेम सुवालले सीमावर्ती क्षेत्रमा २० वर्षअघि नै विवाह गर्ने चलन रहेको भन्दै रोक्न मन्त्रालयले के गरिरहेको छ भनी प्रश्न गरेका थिए। ‘सीमा क्षेत्रमा महिलाको विवाह २० वर्ष नै नपुगी भइरहेको उनले उल्लेख गरे।

नेकपाकी सांसद रामकुमारी झाँक्रीले पनि विवाहको उमेर १८ वर्ष बनाउनु पर्ने बताइन्। ‘२० वर्ष नै भनेर आदर्शवादी बन्दा हामी आफैले अपराध बढाउन प्रोत्साहन दिएका छौँ,’ उनले भनिन्, ‘त्यसलाई पुनर्विचार गरौं। कानून व्यवहारिक बनाऔं।’

त्यस्तै नेकपाका अर्का सांसद देवेन्द्र पौडेलले पनि भारतमा १८ वर्ष र नेपालमा २० वर्ष बिहे उमेर तोकिएका कारण सीमा क्षेत्रमा समस्या रहेको बताए।

साथै अन्य सांसदहरुले पनि विवाह गर्ने उमेर १८ बनाउनुपर्ने माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्