उर्जामन्त्री पुन संसदमा बोल्दाबोल्दै बत्ती निभेपछि…



२३ साउन २०७६, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बोल्दै गर्दा बिहीबार संसदमा बत्ती निभेको छ । बत्ती निभे पनि उनी बोलिरहेका थिए । करिब १५ सेकेन्डपछि बत्ती बालिएको थियो ।

केही दिनअघिको संसद बैठकमा जुम्लाका सांसद गजेन्द्र महतले जुम्लामा बिजुली अवरुद्ध भएको जानकारी गराउन पटक पटक प्रयास गर्दा पनि मन्त्री पुन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बेवास्ता गरेको आरोप लगाएका थिए ।

सांसद महतको यो प्रश्नको जवाफ दिँदै मन्त्री पुनले जुम्लाको समस्या आफूहरुलाई जानकारी भएको भन्दै त्यसको समाधानका लागि पहल गरिरहेको बताए । उनले जुम्लामा बत्ती बाल्न तत्कालका लागि ३ सय केभीएको डिजेल प्लान्ट पठाउने तयारी भइसकेको बताएका छन् ।

जुम्लामा सञ्चालित २ सय ४० किलोवाटको लघु जलविद्युत आयोजना बिग्रिएकाले बत्ती नबलेको मन्त्रीले स्पष्ट पारेका छन्। मन्त्री पुनले उक्त आयोजना मर्मत सम्भार गर्ने र जुम्लासहित कर्णाली प्रदेशमा केन्द्रीय प्रशारण लाइन पुर्याउन काम सुरु भइसकेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्