‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा यही सरकारले पूरा गर्छ’ : डा. राजन भट्टराई



२३ साउन २०७६, काठमाडौं

नेकपा केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सुमन तामाङद्वारा आयोजित जनप्रतिनिधि, पार्टी कार्यकर्ता बिचको अन्तरक्रिया कार्यक्रममा ‘समृद्ध नेपाल र सुखी नेपाली’ राष्ट्रिय आकांक्षा अरु कुनै पार्टीले नभएर नेकपाको बर्तमान सरकारले नै पुरा गर्ने बताएका छन् ।

नेकपाले सत्ता संचालन गर्दा कागजमा मात्रै भएको संघीयतालाई कानून, भौतिक पूर्वाधार र कर्मचारी समायोजन गरी छोटो समयमा सम्पन्न गर्नु महत्वपूर्ण काम भएको बताउँदै अनेकौं प्रतिकुलताका बाबजुत आर्थिक बृद्धिदर, पर्यटन आगमन र राष्ट्रिय गौरवका योजनाहरु तोकिएको समयमै सम्पन्न हुने गरी बढेको जानकारी गराएका छन् ।

कार्यकर्ताको प्रश्नमा भट्टराईले जवाफ दिदैं भने, ‘कतिपय कामहरु पार्टी एकताको कारण ढिला भएका छन् । केही समयमै सम्पन्न हुने वडा स्तरसम्मको पार्टी एकतापछि नियमित छलफल गरी पार्टी र सरकारबिचको दुरीलाई स्थानीय तहदेखि केन्द्रिय तहसम्म समाधान गरिने बताए ।’

संघीय निर्वाचनमा अपेक्षित उपलब्धी नभएपनि आफूले निर्वाचनको बेला गरेको बाचा अनुसार यस क्षेत्रको खानेपानी समस्या समाधान गर्न, सडक बिस्तार र स्तरोन्नति गर्न, पार्कहरु निर्माण गर्न, प्रदेश सरकार र संघीय सरकारबाट पर्याप्त बजेट छुट्याउन ब्यक्तिगत नेतृत्व गरेको बताउँदै संघीय सरकारले गर्न सक्ने जुनसुकै योजनाको लागि पनि आफूले बजेट बिनियोजन गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरे ।

वडाध्यक्ष सुमन तामाङले वडा कार्यालयले गरेका कामहरु र पार्टी कार्यकर्ताले सोधेका विकास निर्माण सम्बन्धीका जिज्ञासाहरुको जवाफ दिएका थिए । कार्यक्रममा स्थानीय कार्यकर्ता शम्भु श्रेष्ठ, दधिराम कट्टेल, बालकुमारी भट्टराई, जनार्दन दाहाल, पुरुषोत्तम कोइराला, गोपाल खड्का, कुमार केसी, उद्धव थापा लगायतले स्थानीय सरकार र संघीय सरकारका काम कारवाही प्रति जिज्ञासा राखेका थिए ।

कार्यक्रममा वडाध्यक्ष तामाङ, वडा सदस्यहरु, नेकपा प्रदेश ३ का सदस्य सुन्दर पुर्कुटी, नेकपा बूढानीलकण्ठका नेता रबिन अधिकारी लगायत नेकपा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्