दलित समुदायलाई घर हस्तान्तरण



२२ साउन २०७६, काठमाडौं

रुपन्देहीको कञ्चन गाउँपालिका–२ स्थित रातामाटामा निर्माण भएका पाँच घर आज स्थानीयवासीलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले दलित समुदायका पाँच जनालाई शौचालयसहितको जस्तापाता लगाएको दुईकोठे भवनको ताला तथा चाबी हस्तान्तरण गर्नुभयो ।

सङ्घीय सरकार तराई मधेश समृद्धि कार्यक्रम र कञ्चन गाउँपालिकाको संयुक्त लगानीमा मुुसहर तथा दलित बस्तीका लागि घर निर्माण भएको थियो । एक घरका लागि रु दुई लाख २० हजार लगानी रहेको बताइएको छ ।

सङ्घीय सरकारको रु एक करोड र कञ्चन गाउँपालिकाको रु १० लाख लगानीमा सो गाउँपालिकाका सबै वडामा ५० घर निर्माण भएको छ । गाउँपालिका–२ मा मात्रै २५ घर छ भने प्रत्येक वडामा पाँच–पाँच घर निर्माण भएको छ । निर्माण भएका २५ घर मुसहर र २५ घर दलित बस्तीका लागि निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । सरकारी जग्गामा निर्माण भएको आवासमा बस्ने व्यक्तिको स्वामित्व रहेको छैन ।

सो अवसरमा प्रदेश नं ५ का प्रदेशसभा सदस्य भूमिश्वर ढकालले दलित र गरीब समुदायलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभयो ।

राष्ट्रियसभाका सदस्य भट्टराईले कानून बनाएर सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने उल्लेख गर्दै अवसर नभएकालाई आवास बनाइदिने सरकारको योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब कसैले पनि भोकै मर्नुपर्दैन, उपचार नपाएर मर्नुपर्दैन ।”

प्रतिक्रिया दिनुहोस्