
२२ साउन २०७६, काठमाडौं
चितवनको नारायणगढस्थित कंगारू होटलमा झुण्डिएर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले रवि लामिछाने र उनको समूहको कारण आत्महत्याको शिकार भएको बताएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
पत्रकार पुडासैनीले भिडियो सन्देश छाडेर आत्महत्या गरेको प्रहरीले पत्ता लगाएका छन् । अनुसन्धानका क्रममा पत्रकार पुडासैनीको मोबाइलको मेमेरीमा ८ र ५ मिनेट गरी जम्मा १३ मिनेटको खिचेको भिडियो भेटिएको पारिवारिक स्रोतको दावी गरेका छन् ।
पुडासैनीको परिवारले हत्या वा आत्महत्याबारे स्पष्ट छानविन गर्न प्रहरीमा किटानी जाहेरी दिएका छन्। नयाँ भिडियो सार्वजनिक भएपछि परिवारले सन्देशमा उल्लेख भएका व्यक्तिहरुमाथि किटानी जाहेरी दर्ता गर्ने तयारी गरेको छ । मृतक पुडासैनीले भिडियोमा आत्महत्या रोज्नुको बाध्यताबारे प्रष्ट जानकारी दिएको परिवारको दावी छ।
तत्काल भिडियो सन्देश सार्वजनिक गर्दा अनुसन्धान प्रभावित हुने भएकाले प्रहरीले भिडियो सन्देश सार्वजनिक गरेको छैन। प्रहरी स्रोतले भन्यो, ‘हामी अनुसन्धानकै क्रममा छौं। प्रहरीले अनुसन्धान फेला पारेका सबै चीज सार्वजनिक गर्न मिल्दैन, सत्यतथ्य पत्ता लगाउन हामीले गहिरो अनुसन्धान गर्छौं र त्यसपछि मात्र वास्तविकता बाहिर ल्याउँछौं।’
यस्तो छ पुडासैनीको आत्महत्याको भिडियो सन्देश :
मलाई रवि लामिछाने र दीपक दाजुले पछिल्लो पटक धेरै नै टर्चर दिनुभयो। उहाँहरूले करोडौँ रूपैयाँ कमाउने तर मलाई कममात्र पैसा दिने। पछि मलाई अष्ट्रेलिया डिपेन्डेन्ट भिषामा पठाइदिने भनेर एक जना केटीको पछि लगाए। तर त्यही क्रममा मैले न्यूज २४ टेलिभिजन छाडे पनि। र पछिसम्म मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने रणनीति बनाउनु भयो। त्यसकारण म अब संसारमा यस्तैगरि बाँचिरहन चाहन्न ।





