
२२ श्रावण २०७६, काठमाडौं
उदयपुर जिल्लाको गाईघाटको बोक्सेमा रहेका जिल्ला कारागार शाखाका सम्पूर्ण कैदीबन्दी भाइरल ज्वरोबाट बिरामी भएपछि उपचार शुरु गरिएको छ।
शुरुमा दुई–चार कैदीबन्दीलाई मात्र सामान्य ज्वरो आए हो।
पछिल्लो समय सम्पूर्ण कैदीबन्दी नै भाइरल ज्वरोबाट प्रभावित हुन पुगेपछि उनीहरूको नियमित उपचार शुरु गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जानकारी दिएका हुन्।
प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार जिल्ला अस्पताल उदयपरबाटै चिकित्सकसहित औषधि झिकाइ कारागारमै उपचारको व्यवस्था गरिएको छ।
एक सय त्रिहत्तर कैदीबन्दीसहित तीन बालबालिका रहेको जिल्ला कारागार उदयपुरका सबै कैदीबन्दी भाइरलको ज्वरोबाट प्रभावित भएपछि अहिले नियमित उपचारको व्यवस्था गरिएपछि उनीहरूको स्वास्थ्यमा सुधार हुँदै गएको प्रजिअ खड्काले बताए।





