तौलुङ्गलाई घान्द्रुक र घले गाउँजस्तै लोकप्रिय होमस्टे हब बनाउनुपर्छ : नेकपा नेता डा. राजन भट्टराई 



२१ साउन २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बूढानीलकण्ठ नगरपालिका वडा नं. १ का जनप्रतिनिधि र पार्टी कार्यकर्ताबिचको छलफलमा शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा अवस्थित तौलुङ्गलाई घान्द्रुक र घले गाउँजस्तै लोकप्रिय होमस्टे हब बनाउन सकिने बताउँदै यस बर्षको बजेटमा ५० लाख बिनियोजन गराएको जानकारी गराए ।

छलफलमा बूनपा १ का अध्यक्ष सुरेन्द्र लामाले आफ्नो कार्यकालमा २ करोड ६२ लाख लागतमा पूर्वाधार विकासतर्फ १.७५० किमी मोटरबाटो, २२ लाख लागतमा ७२० मिटर ढल निर्माण, ५० लाख ६० हजार लागतमा ५ खानेपानी ट्याङ्की निर्माण गरिएको जानकारी दिए । यसैगरी गुम्बा चौतारा सामुदायिक भवन, स्वरोजगार कार्यक्रम अन्तर्गत कृषकलाई बाख्रा वितरण, २८ जनालाई ड्राईभिङ्ग, ६ जनालाई कुक तथा हाउस किपिङ्ग लगायतको कार्यक्रम संचालन गरेको जानकारी दिए ।

डा. राजन भट्टराईसँगको छलफलमा स्थानीय नेकपाका कार्यकर्ता डिल्लीराम निरौलाले मुहान पोखरीको व्यवस्थापन राम्रो नभएको, स्थानीय विकास निर्माणका कामले गति लिए पनि केन्द्रिय बाटाहरु समयमै सम्पन्न नभएको गुनासो गरे ।

स्थानीयवासी अमर बहादुर लामाले राष्ट्रिय निकुञ्जको कारण देखाउँदै २०२१ सालदेखि अहिलेसम्म आफ्नो टोलमा बाटो नपुगेको गुनासो गरे । नेकपा कार्यकर्ता देवीप्रसाद कोइरालाले पानीको ट्याङ्की बनेपनि खानेपानी नआएको बताउँदै मुहान पोखरी सफा नभएकोमा गुनासो पोखे ।

नेकपा कार्यकर्ता हरि भारतीले जनताको असिमिति आकांक्षा पुरा गर्न सरकारले अझ बढी काम गर्नुपर्ने बताउँदै पुस्तौदेखि स्थानीयले उत्पादन गर्ने रक्सी बन्द गरेर स्वरोजगारको बाटो नखुलाएकोमा दुखेसो पोखे । निर्वाचनमा सफलता नपाएपनि हाम्रो नेता तपाई नै हो बाक्लो रुपमा हाम्रो क्षेत्रमा उपस्थिती जनाउनुपर्छ–भारतीले भने ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचय बनाएका स्थानीयवासी श्याम तामाङले क्षेत्र नं. ४ खेलकुदमा पर्याप्त गतिविधि नभएको भन्दै डा. राजन भट्टराईको ध्यानाकर्षण गरेका थिए । साथै स्थानीय खेलकुद विकासको लागि कभर्ड हलको व्यवस्थापन गरिदिन समेत अनुरोध गरे ।

नेकपाकी नेतृ बिष्णु अधिकारीले ८/९ बर्षदेखि खानेपानीको समस्या ज्यूकात्यू रहेकोले खानेपानी समस्या समाधानको लागि आवश्यक पहल गरिदिन अनुरोध गरिन् ।

नेकपा नेता माधवप्रसाद गुँरागाईले पार्टी एकता ढिला भएको कारण भेटघाट पातलो भएपनि अब बढाउनुपर्ने सुझाव दिए । खोलामा सेफ्टी ट्याङ्की हालेकोले बग्ने पानी दुर्गन्धित भएकोले त्यसलाई रोक्न वडाले पहल गर्नुपर्ने बताए ।

सरसफाई अभियन्ता निर्मला खड्काले ढल खोलामा मिसाउनाले पानी दुर्गन्धित भएको बताउँदै प्रत्येक घरमा अनिवार्य सेफ्टी ट्याङ्की राख्न वडाले दवाव दिनुपर्ने बताईन् ।

नेकपा नेतृ ललिता श्रेष्ठले सिम्ले गाउँमा अझै बाटो नभएकोले तत्काल बनाउन माग गरिन् । पानीको बितरण व्यवस्थित नभएकोले धारा भएपनि पानी आउन छोडेको बताईन् ।

स्थानीय युवा उद्यमी सुन्दर गिरीले बूढानीलकण्ठदेखि मुहान पोखरीसम्मको बाटो अति बिजोक भएकोले त्यसलाई बनाउन पहल गर्नुपर्ने बताए । आफू स्थानीय रुपमा जन्मिएर होम स्टे संचालक हुँदा पनि शिवपुरी निकुञ्जभित्र पर्यटक घुमाउन लोकल गाईड भाडामा लिनुपर्ने बेथिति हटाईदिन अनुरोध गरे ।

स्थानीय उद्यमी तथा महिला अधिकारकर्मी सुशीला गिरी कडायतले दुई बर्षमा पहिलोपटक छलफल भएकोमा दु:ख व्यक्त गर्दै छलफल नियमित हुनुपर्ने र विकासको नाममा पूर्वाधार मात्र नभई मानवीय विकासलाई समेत ध्यान दिनुपर्ने सुझाव दिईन् ।

नेकपा नेता ज्ञान बहादुर कार्कीले पार्टी एकता ढिलो भएकोमा दु:ख व्यक्त गर्दै विकास निर्माण र सामाजिक अभियानमा पार्टी र स्थानीय सरकार मिलेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि डा. राजन भट्टराईले पार्टी एकता ढिलो हुँदा सरकारले गरेका कामको आवश्यक प्रचारप्रसार हुन नसकेको बताउँदै काठमाडौंको हकमा छिट्टै पार्टी एकता जानकारी गराए ।

स्थानीयको समस्या सम्बोधनका क्रममा डा. भट्टराईले पार्टीले स्थानीय निर्वाचन र संघीय निर्वाचनमा बाचा गरे अनुसार केही बर्षमा पानी सहितको धारा घरघरमा पुर्याएरै छोड्ने प्रतिबद्धता जनाए । शिवपुरी बूढानीलकण्ठको जीवन निर्वाहको माध्यम बन्नुपर्छ भन्दै काठमाडौंको केन्द्रबाट यति नजिक रहेको तौलुङ्गलाई घलेगाउँ र घान्द्रुक जस्ता लोकप्रिय होम स्टे बनाउन सकिने सम्भावना देखेरै आफूले होम स्टे पूर्वाधारको लागि बजेट बिनियोजन गराएको र गुरुयोजनापछि आवश्यक बजेटको प्रबन्ध गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरे ।

छलफलमा डा. भट्टराईले छोटो समयमा सरकारले गरेको कामको चर्चा गर्दै तीन सय भन्दा बढी कानून निर्माण तथा संशोधन, प्रदेश सरकारको पूर्वाधार निर्माण, कर्मचारी समायोजन गर्दै समय बितेको भएपनि गतबर्ष नै कृषिमा सबैभन्दा बढी उत्पादन, इतिहासमै सबैभन्दा बढी पर्यटक भित्र्याउन सफल र इतिहासमै पहिलोपटक ७.१ प्रतिशत आर्थिक बृद्धि गरेको जानकारी दिदै आगामी बर्षदेखि विकासले अझ बढी फड्को मार्ने बताए ।

छलफलमा स्थानीय जनप्रतिनिधिहरु नेकपा जिल्ला कमिटी सदस्य बिदुर विक्रम खड्का, नेकपा नेता ध्रुव भट्टराई, पुष्प भट्टराई, राजु खड्का लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्