
२१ साउन २०७६, काठमाडौँ
विदुर नगरपालिका-२ वट्टारबजारका इद्रिश मियाले आफ्नै कान्छो छोरा समीर खानमाथि घरायसी विवाद हुँदा छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । छुट्याउन जाँदा अन्य दुई छोराछोरी पनि घाइते भएका छन् ।
छोरा समीर लामो समयदेखि वैदेशिक रोजगारीका क्रममा दुवइमा थिए । उनी केही समयअघि मात्र घर फर्केका थिए । अंशको बिषयलाई लिएर झगडा हुदा बाबु इद्रिशले पेटमा छुरा हानेर गम्भीर घाइते बनाएको स्थानीयले बताए ।
३२ वर्षीय छोरा समीरमाथि जिउँदै आगो लगाउने उद्देश्यले इद्रिशले पेट्रोलसमेत छर्किएका थिए । बावु छोराको झगडा छुट्टाउन गएका समीरका दाजु सफी खान र उनकी दीदीसमेत घाइते भएका छन् । गत वर्ष मात्र इद्रिशकी पत्नीको मृत्यु भएको थियो । त्यसपछि उनले दोस्रो विवाह गरे ।
बुवाले दोस्रो विवाह गरेपछि समीरले घरपसलको अधिकार बुवालाई नदिने भन्दै आएका थिए। सोही विषय लिएर विवाद हुँदा इद्रिशले घरमै कान्छा छोरा सन्नीमाथि छुरा प्रहार गरेका थिए। प्रहरीले इद्रिशलाई तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । छुरा प्रहारबाट घाइते सन्नीलाई घटनालगत्तै हेलिकप्टरमार्फत काठमाडौ लगिएको छ।





