सरकार सही बाटोमा हिडिरहेको छ : सल्लाहकार डा. भट्टराई



२१ साउन २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बूढानीलकण्ठ नगरपालिका वडा नं. २ का जनप्रतिनिधि र पार्टी कार्यकर्ताबिचको छलफलमा प्रश्नको जवाफ दिदैं सरकार सही बाटोमा अगाडि बढिरहेको बताएका छन् ।

स्थानीय नेकपा कार्यकर्ता शेखर कार्कीले २०४६ पछि सबैभन्दा शक्तिशाली सरकारले समेत जनताको अपेक्षा पुरा गर्न नसकेको, प्रधानमन्त्रीको बोली जिम्मेवार भन्दा हासीमजाक बढी भएको, लामो समय निर्माण सम्पन्न नगर्दा पनि ठेकेदारलाई कारवाही गर्न नसकेको, सामुदायिक विद्यालयको गुणस्तर बढाउन सरकारले पहल नगरेको कारण सिङ्गो सरकारप्रति जनताको अविश्वास बढ्दै गएको जानकारी गराउँदै सोही अनुसारको सल्लाह दिन आग्रह गरेका छन् ।

नेकपाका हस्त बहादुर केसीले बूनपा २ को कल्पबृक्ष टोलमा खानेपानी, ढल निकास र बिजुलीको समस्या रहेको बताए । अर्का कार्यकर्ता फणिन्द्र भट्टराईले स्थानीय सरकार आएपछि काम गर्न सजिलो भएको तर आफ्नो टोलमा शान्ति, सुरक्षाको लागि तत्काल प्रहरी बिटको व्यवस्था गर्नुपर्ने माग गरे ।

मिलन कोलनीकी शोभा तिवारीले आफ्नो टोलमा खानेपानीको अभाव, सामुदायिक भवन र पार्कको व्यवस्था गरिदिन माग गरिन् । जनप्रतिनिधि आएपछि बिकासले गति लिएको भएपनि गुटबन्दी र चाप्लुसी बढेको समेत स्थानीय जनप्रतिनिधिलाई आरोप लगाईन् ।

शंकर बिमलीले जनप्रतिनिधिले सबैलाई मिलाएर अगाडि बढिरहेको बताउँदै हाइटेन्सन मुनिको बर्षाै नबनेको बाटो अगाडि बढाईदिन अनुरोध गरे । सडक जस्तो सार्वजनिक सम्पत्तिमा मोटरसाईकल ग्यारेज, बालुवा गिट्टी राखेर ध्वस्त बनाईएकोले जनप्रतिनिधिले कारवाही गर्नुपर्ने माग समेत गरे ।

धार्मिक अभियान्ता सुदर्शन नेपालले जेष्ठ नागरिक पार्क र कालिका चौरमा भजन किर्तन गर्ने स्थल चाहियो भनि माग गरे । स्थानीय गणेश श्रेष्ठले नागरिकले नागरिक दायित्व नबुझेको कारण सरकारलाई मात्र दोष लगाउने प्रवृत्ति बढेको बताए । आधुनिक शहरको लागि टोलटोलको नाम सहित होर्डिङ बोर्ड राख्नुपर्ने समेत उनको माग थियो ।

लक्ष्मण श्रेष्ठले भद्र बस्तीमा एउटा ब्यक्तिको कारण अरुले दुःख पाएको बताउँदै बाटो र पानीको समस्या समाधान गर्न जनप्रतिनिधिलाई अनुरोध गरे ।

धोबीढुङ्गा तल्लो भंगाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेले खानेपानीका धेरै योजनाहरु कपनतिर मात्रै केन्द्रित गरेको बताउँदै आफ्नो खानेपानी समितिलाई समेत बजेट पारीदिन डा. भट्टराईलाई अनुरोध गरे ।

जिएस पौडेलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन हुबहु लागु गराउन डा. भट्टराईले प्रधानमन्त्रीलाई कन्भिन्स गराउनुपर्ने बताए ।

वडाध्यक्ष राजेन्द्र खड्काले सहभागीले उठाएका जिज्ञासामा उत्तर दिदैं स्थानीय सरकार जिम्मेवार ढंगले अगाडि बढिरहेको बताउँदै जनताको सुझाव अनुसार नै आफूहरु चलिरहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि डा. राजन भट्टराईले तपाईहरुको गुनासा र अपेक्षा बुझ्न आएकोले मनमा लागेका सबै कुरा खुलस्त भन्न प्रेरित गरेका थिए । जनताको अपेक्षा र पुरानो कर्मचारीतन्त्रको कारण देखिने नतिजा नभएपनि सरकार निरन्तर लागिरहेको बताए । अनेकौं प्रतिकुलताका बाबजुत स्वास्थ्य बिमा कार्यक्रम र सामाजिक सुरक्षा मार्फत सबै नागरिकहरुलाई राज्यले सहयोग गर्न खोजेको बताउँदै दुई दशक लामो राजनीतिक अस्थिरताको कारण सरकारप्रति जिम्मेवार नहुने कर्मचारीतन्त्रमा यसपटकको करारनामाले सकारात्मक सन्देश दिने बताए । कपनमा बाक्लो बस्ती र बढी जनसंख्या भएकोले केही योजना कपनमा बढी भएपनि धोबीढुङ्गा खानेपानी समितिकै अनुरोध अनुसार १ करोड भन्दा बढी बजेट प्रदेश सरकारबाट बिनियोजन गराएको जानकारी समेत दिए ।

उच्चस्तरीय शिक्षा आयोगले दिएको सुझावलाई सरकारले हुबहु लागू गर्न नसक्ने बताउँदै आयोगका राम्रा सुझावहरु पालना गर्न, नीतिगत निर्णय गरेर अगाडि बढ्न शिक्षा मन्त्रालयले काम गरिरहेको जानकारी समेत दिए ।

सरकारले १० बर्षभित्र नीजि विद्यालय बन्द गर्न सक्ने अवस्था नरहेको बताउँदै सामुदायिक शिक्षाको गुणस्तर बढाउन नै सरकार केन्द्रित भएको बताए ।

कार्यक्रमको समापनपछि आफ्नो पहलमा भर्खरै निर्माण सम्पन्न चपली सामुदायिक मार्गको ढलान बाटोेको वडाध्यक्ष सहित स्थलगत अनुगमन समेत गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख उद्धबप्रसाद खरेल, नेकपा प्रदेश सदस्य सुन्दर पुर्कुटी, नेकपा काठमाडौं जिल्ला सदस्य विदुर विक्रम खड्का लगायत वडा सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्