काठमाडौँको ढलमा सुनैसुन



२१ साउन २०७६, काठमाडौँ

राजधानी काठमाडौंको अति व्यस्त सहर न्युरोडभित्र नालीबाट निकालिएको हिलो (फोहोर)  किन्नका लागि झगडा तथा मारामार हुने गरेको छ ।

न्युरोडका नालीमा सुन बग्ने कारणले ढलका फोहोर खोसाखोस हुने उक्त क्षेत्रका वडाअध्यक्ष चिनीकाजी महर्जन बताउँछन् ।

देशको सबैभन्दा धेरै सुनको कारोबार हुने काठमाडौं महानगरपालिका २२ स्थित न्युरोड गेटदेखि जुद्ध सडक आसपासका नालाबाट निस्किएको फोहोर उठाउन हारालुछ हुने उनले बताए ।

उक्त क्षेत्रमा करिब दुई सय सुन पसल भएको अनुमान महिला वडासदस्य रश्मिला मल्लले गरिन् । ‘महानगरभित्र सुन कारोबार हुनेमध्ये ८६ प्रतिशत वडा नम्बर २२ भित्र पर्छन् । त्यसैले ढलहरू जाम हुनेबित्तिकै फोहोर उठाउन मानिसको लर्को लाग्छ ।’

वडासदस्य चन्द्रमान तुलाधरले बताए  ‘यहाँ त सुन पसलअघिको फोहोरसमेत बिहानै बढारेर लान्छन्,’। सुन पसल र कारखाना वरपरबाट उठाइएको नालीको हिलो र पसलबाट निस्कने फोहोरमा विभिन्न विधिबाट सुन खोजिन्छ । त्यस्ता कारोबार गर्नेहरूले फोहोरको प्रकृति हेरेर पखाल्ने, छान्ने, डढाउने तरिका प्रयोग गर्छन् ।

प्रतिक्रिया दिनुहोस्