बूनपा ९ मा डा. राजन भट्टराई, जनप्रतिनिधि र कार्यकर्ताविच अन्तरक्रिया सम्पन्न



२० साउन २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ का जनप्रतिनिधि र कार्यकर्तासँग अन्तरक्रिया सम्पन्न गरेका छन् ।

अन्तरक्रियामा बूनपा ९ का वडाध्यक्ष राजेन्द्र प्रसाद सापकोटाले वडामा भए गरेका कामहरुको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा नेकपाका स्थानीय नेता शरद न्यौपानेले खानेपानीको समस्या, छाडा कुकुरहरुको समस्या समाधान तर्फ काम गर्न वडा कार्यालयले नसकेको गुनासो गरे । डा. भट्टराई र कार्यकर्ताबिचको सम्बन्धलाई प्रगाढ बनाउन यस्ता कार्यक्रम निरन्तर राख्नुपर्ने सुझाव दिए ।

त्यसैगरी मोहन केसीले धोबीखोला सरसफाईमा सरोकारवालाहरु नसमेटिएको, खानेपानी समस्या समाधान गर्न डा. भट्टराईले नै नेतृत्व गर्नुपर्ने भन्दै सिसिटिभी र स्मार्ट लाइटको काम अगाडि बढाउन स्थानीय सरकारलाई अनुरोध गरे ।

छलफलमा कमल गौतमले चुनाव भएको दुई बर्षमा समेत पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिले छलफल र भेटघाट नराखी कार्यकर्ताको बेवास्ता गरेको बताए ।

मिना बिष्टले घोषणा पत्रमा उल्लेखित लक्षित समुदाय परिचालन तर्फ वडा कार्यालयले ध्यान नदिएको भन्दै बिकासको अर्थ भौतिक पूर्वाधार मात्र नभएको बताईन् ।

तुलसी प्रसाद पनेरुले साँघुरो ठाउँमा यातायात कार्यालय सारेर अनावश्यक ट्राफिक जाम भोग्नुपरेको बताउँदै उक्त कार्यालय खुला ठाउँमा सार्न पहल गरिदिन अनुरोध गरे ।

त्यसैगरी केशब पौडेल, किशोर कायस्थ, क्षेत्र बहादुर श्रेष्ठ, हरि बहादुर कार्की, ध्रुव रिमाल, दिलिप थिङ र नेकपाका स्थानीय नेता गोबिन्द कटुवालले बाटो, पानी सहितको खानेपानी व्यवस्था, धोबीखोला करिडोरको काम समयमै सम्पन्न गर्न स्थानीय सरकार डा. भट्टराई मार्फत संघीय सरकार समक्ष बजेट माग गर्नुपर्ने बताए ।

डा. भट्टराईले आफ्ना बिचार राख्नु अघि प्रदेश सांसद कुसुम कुमार कार्कीको अनुपस्थिति बारे प्रश्न गर्दा वडाध्यक्ष सापकोटाले उपत्यका बाहिर भएकोले उपस्थित हुन नसकेको जानकारी गराएका थिए ।

अन्तरक्रिया कार्यक्रममा भट्टराईले स्थानीय सरकारलाई अधिकार भएपनि आवश्यक पूर्वाधार र प्रविधिको अभावले स्थानीय सरकारहरुले सोचे जति काम गर्न नसकेकोे बताउँदै निजामति कर्मचारी सरकारलाई सहयोग गर्न भन्दा छलिने प्रबृत्ति बढेकोले कामलाई गति दिन प्रधानमन्त्रीले मन्त्री, सचिव लगायतलाई करारनामा गर्नुपरेको तितो अनुभव समेत राखे ।

नेकपाको सरकारमा दुई तिहाई नै भएपनि काम गर्ने कर्मचारीले राम्रो काम नगर्दा त्यसको अवजस जनप्रतिनिधिलाई परेको बताउँदै सरकारले ल्याएका सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य विमा जस्ता महत्वपूर्ण कार्यक्रमको प्रचार समेत हुन नसकेको बताए ।

अनेकौं प्रतिकुलताको बाबजुत गतवर्षको आर्थिक वृद्धिदर ७.१ हुनु इतिहासमै पहिलोपटक सबैभन्दा बढी पर्यटक नेपाल भित्रिनु, उपत्यकाको धेरै जसो स्थानमा बाटोको अवस्था सुधार हुनु सकारात्मक रहेपनि आगामी बर्षको बजेट कार्यान्वयनले सरकारको छविमा सकारात्मकता थपिने बताए ।

प्रतिक्रिया दिनुहोस्