निरक्षरलाई साक्षर बनाउने अभियानमा नगरप्रमुख खरेल



१८ साउन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका शिक्षा समितिको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बूढानीलकण्ठ नगरप्रमुख उद्धवप्रसाद खरेलले आफ्नो नगरभित्रका निरक्षरहरुको तथ्यांक संकलन गरी साक्षर बनाउने अभियान थाल्ने भएका छन् ।

नेपाल सरकारको साक्षरता अभियानलाई साकार बनाउन प्रमुख खरेलले नगरपालिकाले १५ दिनभित्र फाराम र कार्ययोजना बनाई नगरक्षेत्रभित्र बसोबास गर्ने १५ देखि ६० बर्ष उमेर समूहका सम्पूर्ण नागरिकहरुको तथ्यांक संकलन गरी निरक्षर सबैलाई साक्षर बनाउने घोषणा गरेका छन् ।

यसको लागि नगरपालिकाले नगरप्रमुखकै नेतृत्वमा साक्षरता समिति बनाउने र प्रत्येक वडाका वडाध्यक्षहरुले वरपरका विद्यालयहरु मार्फत निरक्षरहरुको तथ्यांक संकलन गरी विद्यालय, वडाकार्यालय र सामाजिक संघसंस्थाको संयुक्त पहलमा घरघरमा गएर, टोलटोलमा जम्मा गरेर वा विद्यालयहरुमा पढाएर सबैलाई साक्षर बनाउने अभियान संचालन गर्ने भएको छ ।

कार्यक्रममा नगरप्रमुख खरेल सहित उपप्रमुख रमादेवी राई, बूनपा शिक्षा शाखा उपसचिव जगन्नाथ उपाध्याय, विभिन्न वडाका वडाध्यक्ष, अभिभावक महासंघ, शिक्षक संघसंगठन, प्याब्सन एनप्याब्सनका प्रतिनिधि लगायत स्थानीय समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

शिक्षा समिति सदस्य निम काजी श्रेष्ठले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ९ का वडाध्यक्ष राजेन्द्र प्रसाद सापकोटा, विषय सन्दर्भ मन्तव्य शिक्षा उपसमिति संयोजक बाबुकाजी श्रेष्ठले राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्