बूनपा १३ मा डा. राजन भट्टराई, जनप्रतिनिधि र पार्टी कार्यकर्ताबिच अन्तरक्रिया सम्पन्न



१८ साउन २०७६, काठमाडौं

नेकपा केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ का जनप्रतिनिधि, र नेकपा अगुवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रियामा नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुले नेकपाकै कार्यकर्तासँग परामर्श र समन्वय नगरेको गुनासो गरेका थिए ।

कार्यक्रममा अनेरास्ववियु पूर्व सचिव उर्मिला कार्कीले निर्वाचनपछि पार्टी गतिविधि शुन्य भएकोमा चिन्ता व्यक्त गरिन् । त्यसैगरी नेकपाका नेता भाई नारायण श्रेष्ठले कोठामा बसेर काम गर्ने डा. राजन भट्टराईले फिल्डमा प्रचार नगर्दा जति काम गरेपनि नदेखिएको बताए ।

स्थानीय समाजसेवी तथा नेकपा नेता कृष्णकाजी श्रेष्ठले खानेपानी, सडक र विद्यालय बनाउन डा. भट्टराईले गरेको योगदान चुनिखेलवासीको लागि महत्वपूर्ण रहेको जानकारी गराउँदै पार्टी एकताको अभावले सांगठनिक गतिविधि कम भएको बताए ।

नेकपाका नेता श्रीकृष्ण श्रेष्ठले गाम्चा क्षेत्रको विकासमा वडाध्यक्षले ध्यान नदिएको बताए । त्यसैगरी डा. भट्टराईले कार्यकर्तासँग नियमित सम्पर्क गर्नुपर्ने समेत सुझाए ।

नेकपाका नेता टिकेश श्रेष्ठले जितेका पार्टी नेताहरुले कार्यकर्तालाई वेवास्ता गर्र्दैगर्दा उपविजेता बनेका डा. भट्टराईले चुनिखेलको समग्र विकासमा योगदान पुर्याएकोमा प्रशंसा गर्दै स्थानीय कार्यकर्ता र डा. भट्टराईविच हुनुपर्ने जति नियमित सम्पर्क नभएकोमा त्यसलाई सुधार्न सबैले लाग्नुपर्ने बताए ।

उनको जोड थियो, ‘कतिपय पार्टीका कार्यकर्ता स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिहरुलाई सहयोग भन्दा आलोचना बढी गरेका भन्दै यदि त्यो नसुध्रिएमा पार्टीले ठूलो क्षति बेहोर्नेछ ।’

स्थानीय नेकपाका नेता रामलाल श्रेष्ठले राष्ट्रिय स्तरका बजेट ल्याउन जनप्रतिनिधिले पहल नगरेको र वडाबाट भएका कार्यक्रमहरुमा समेत आवश्यक समन्वय नभएको गुनासो गरे ।

पार्टी एकता भएपनि अझै पूर्व माओवादीतर्फलाई पूर्व एमालेहरुले छुट्याएको आरोप समेत लगाए ।

नेकपा नेता तथा बूनपा १३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा कार्यकर्ताका सुझावहरुलाई आफूले आगामी दिनमा लागू गर्ने बचनबद्ध गर्दै जनप्रतिनिधिको काममा सहयोग गर्ने सबै पार्टी कार्यकर्तालाई धन्यवाद दिए ।

वडाध्यक्ष श्रेष्ठको निजी निवासमा करिब दुई घण्टा चलेको अन्तरक्रियापछि डा. भट्टराईले राष्ट्रिय जिम्मेवारीको कारण सोचेजति समय कार्यकर्ता समक्ष बिताउन नपाएपनि आफूले चुनावमा गरेको बाचा पुरा गर्न निरन्तर लागि रहेको र समृद्ध चुनिखेल निर्माणको लागि नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबाट ल्याउनुपर्ने योजनाको लागि आफूले पहल गर्ने बताउँदै स्थानीय आवश्यकता अनुसार प्रक्रियागत ढङ्गले योजना माग गर्न अनुरोध समेत गरे ।

वडाध्यक्ष श्रेष्ठको निजी निवासको सभाहलमा ५० भन्दा बढी स्थानीय कार्यकर्ताहरु मध्ये करिब २० जनाले आफ्नो धारणा राखेका थिए । अन्तरक्रियाले सुस्ताएको पार्टी जीवनमा गति दिएको नेकपाका स्थानीय नेताहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्