
१७ साउन २०७६, काठमाडौँ
मुलुकभर जबरजस्ती करणीका घटना बढेका छन् । प्रहरी प्रधान कार्यालयले जानकारी दिए अनुसार आर्थिक वर्ष २०७४-७५ को तुलनामा आव २०७५-७६ मा जबरजस्ती करणीका मुद्दामा वृद्धि भएको छ ।
कुनै पनि महिलाको इच्छाबेगर जबर्जस्तीरूपमा यौन सम्पर्क गर्न खोज्नुलाई जबरजस्ती करणी भनिन्छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायक महानिरीक्षक विश्वराज पोखरेल आफूले चिनेका व्यक्ति, आफ्नो नाता सम्बन्ध र छरछिमेकका व्यक्तिबाट धेरै जबरजस्ती करणीका घटना हुने गरेको बताएका छन् ।
आव २०७४-७५ मा एक हजार ४८० मुद्दा दर्ता भएकामा आव २०७५-७६ मा एक हजार ८७३ मुद्दा दर्ता भएका छन् । आव २०७३-७४ मा भने एक हजार १३७ मुद्दा दर्ता भएका थिए ।
प्रहरी प्रवक्ता पोखरेलले जबरजस्ती करणीका घटना हिजोका दिनमा लुकाउने गरे पनि पछिल्लो समय प्रहरीलाई सूचना दिने प्रवृत्तिका कारण यस्ता घटनामा वृद्धि आएको बताए ।
‘हिजो विश्वास गरेका व्यक्ति, नाता र छरछिमेक आज अविश्वासमा परिणत भएको छ’, उनले भने। सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट यस्ता घटना बढेको उहाँको भनाइ छ ।





