
१७ साउन २०७६, काठमाडौं
नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेपछि सरकारले नेपाली सेनासँग मिल्दोजुल्दो कपडा बिक्री वितरणमा रोक लगाउन स्थानीय प्रशासनलाई निर्देशन गरेको छ।
आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोशाक जथाभावी रुपमा प्रयोग गर्न थालेपछि बिक्री–वितरण र प्रयोगमा रोक लगाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो।
पछिल्लोपटक नेकपा विप्लव समूहले समेत सेनाले प्रयोग गर्ने पोशाक लगाएर विस्फोटन गराउने, प्रहरीमाथि आक्रमण गर्ने जस्ता गतिबिधि गरेपछि सरकारले सैनिक पोशाकको प्रयोगमा निषेध गर्न लागेको हो।
सरकारका बिभिन्न निकायले पनि सेनाले प्रयोग गर्दै आएको क्यामोफ्लाइज कपडा प्रयोग गरेको पाइएकाले उनीहरुलाई त्यस्ता पोशाक प्रयोगमा नियन्त्रण गर्न गृहले सबै स्थानीय प्रशासन र प्रहरीलाई समेत निर्देशन दिएको बताइएको छ ।





