सडकमा राखिएको बमलाई यात्रुवाहक बसले ठक्कर दिँदा २८ को मृत्यु



१५ साउन २०७६, काठमाडौं

अफगानिस्तानको पश्चिमी भेगको राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई यात्रुवाहक बसले ठक्कर दिँदा बसमा सवार २८ जनाएको ज्यान गएको छ।

बुधबार बिहान भएका उक्त घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश महिला तथा बालबालिकाहरू रहेको प्रहरीले जनाएको छ। बम अफगानिस्तानको विद्रोही समूह तालिवानले राखेको हुनसक्ने प्रहरीको अनुमान छ।

राष्ट्रसङ्घले मङ्गलबार मात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर सर्वसाधारण बढी मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो। फराह प्रान्तका प्रवक्ता मुहिबुल्लाह मुहिबले कन्दाहार–हेराज राष्ट्रिय राजमार्गमा गुडिरहेको बस दुर्घटनामा परेको जानकारी दिए।

उनले सडक किनारामा तालिवान समूहले राखेको बममा यात्रुबाहक बसले ठक्कर दिएको बताए। उक्त घटनामा अरु १० जना सख्त घाइते भएका बताइएको छ। फराहका गभर्नरका प्रवक्ता फारुक बाराकजाईले बम निकै शक्तिशाली भएकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने बताए।

तालिवान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया दिएको छैन।

समग्र सर्वसाधारणको मृत्युमध्ये पनि एक तिहाइ बालबालिकाको रहेको छ। राष्ट्रसङ्घका अनुसार तालिवानका कारण भन्दा पनि सरकारी फौज र अमेरिकी नेतृत्वको फौजको कारबाहीमा बढी नागरिकको ज्यान गएको छ।

आगामी सेप्टेम्बर २८ मा राष्ट्रपतिको निर्वाचन हुने घोषणा गरिएका कारण पनि देशभर हिंसा अझ बढ्ने अनुमान गर्न थालिएको छ। चुनावमा अफगानिस्तानका प्रमुख विद्रोही शक्तिहरू तालिवान समूह र इस्लामिक स्टेटको पूर्ण विमती रहेको छ।

औपचारिक चुनावी अभियान प्रारम्भ हुनुअघि आइतबार काबुलमा भएको एक आक्रमणमा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएका थिए। तालिवान समूहका आत्मघाती आक्रमणकारीले राष्ट्रपतिका सम्भावित उम्मेदवार अमरुल्लाह सालेहको काबुल कार्यालयमा आक्रमण गरेका थिए।

राष्ट्रपतिको चुनाव हुनुअघि नै तालिवान समूहसँग शान्ति सम्झौता गर्ने तयारी अमेरिकाको छ। तर कतारमा महिनौँदेखि जारी अमेरिका र ताइवानबीचको वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्