‘नासा’मा ९ वर्षीय बालकको आवेदन, विश्वव्यापी चर्चा



१४ साउन २०७६, काठमाडौं

अन्तरिक्ष सम्बन्धी कार्यरत अमेरिकी संस्था नासामा हालै खुला गरिएको आवेदनमा एक नौ वर्षीय बालकले आवेदनको लागि लेखेका चिठीले अहिले विश्वव्यापी चर्चा पाइरहेको छ।

अमेरिकाका चार कक्षामा अध्ययनरत ज्याक डेभिस नामका बालकले ‘ग्रहिय सुरक्षा अधिकृत’को लागि निवेदन दिएका थिए।

रोचक त यो छ कि, नासाले डेभिसलाई आधिकारिक जवाफसमेत फर्काएको छ। डेभिसले आवेदनको लागि दिएका चिठीमा आफू सो जागिरको लागि सक्षम भनेर दाबी पनि गरेका छन्।

‘म ९ वर्षको मात्रै भएपनि यो जागिरको लागि सक्षम छु जस्तो लाग्छ।’ उनले पत्रमा भनेका छन् ।

आफूले अन्तरिक्ष सम्बन्धी अधिकांश चलचित्र तथा एलियनहरु हेरिसकेकाले र भिडियो गेममा पनि राम्रो दख्खल भएको बताउँदै डेभिसले सो आवेदन दिएका थिए।

‘म कलिलै छु, तर एलियन झैं सोच्न पनि सक्छु’ उनले भनेका छन् ।

ज्याकको चिठीको जवाफ नासाको ग्रहिय विज्ञान शाखाका निर्देशक डा. जेम्स ग्रीनले नासाको आधिकारिक जवाफस्वरुप उनलाई लेखेका छन्, ‘हामी भविष्यको वैज्ञानिक र इञ्जियरहरुको सदैव खोजीमा हुनेछौं। हामीलाई आशा छ तिमीले स्कुलमा राम्रो पढ्नेछौ। र, पछि हाम्रो भेट नासामा हुनेछ।’

अन्तरिक्ष र एलियनबारे चलचित्र र भिडियो गेम आदिबाट प्राप्त ज्ञानको भरमा नासालाई डेभिसले लेखेका सो चिठीलाई अबोध बालकको सपनाको रुपमा बुझिएपनि नासाजस्तो प्रतिष्ठित र विश्वमय संस्थाले आधिकारिक जवाफ फर्काउनु भने निकै रोचक मानिएको छ।

चलचित्र ग्रहिय विज्ञानअन्तर्गत खुलाइएको सो पदको जिम्मेवारी मुलतः अन्तरिक्ष यात्रीको माध्यमबाट पृथ्वीमा भित्रिन सक्ने संक्रमण र जीवाणु ओसारपसार रोकथामका निम्ति अनुसन्धान तथा कार्य गर्नु हो।

प्रतिक्रिया दिनुहोस्