
१३ साउन २०७६, काठमाडौँ
मन मिलेपछि धनदौलत, उमेरले रोक्दैन भन्ने उदाहरण दिदै ६१ वर्षीय एक व्यक्तिले आफू भन्दा झण्डै १६ वर्ष कम उमेरकी महिलासँग लगनगाँठो कसेका छन् । गुल्मीको मुसिकोट नगरपालिका–९ , अर्लाङ्गकोट पुर्खेयौली घर भई हाल पश्चिम नवलपरासीको गैँडाकोट नगरपालिका–४ झपर्दी वसाईसराई गएका ६१ वर्षीय नारायणप्रसाद सापकोटाले ४५ वर्षीया लक्ष्मी अर्यालसँग लगनगाँठो कसेका हुन् ।
आइतवार यो जोडीले हिन्दु परम्परा अनुसार विधिवत विवाह गरेका हुन् । बेहुलाका कान्छा भाई जयराम सापकोटाका अनुसार बेहुलाका एक छोरी, दुई छोरा र नातिनातिना पनि छन् । हजुरवुवाको विवाहमा नातिनातिनाहरु रमाएर सहभागी भएका थिए ।
एक बर्षअघि उनकी श्रीमती खिमकलीको ५८ बर्षको उमेरमा मृत्यु भएकाले बुढेसकालमा सहाराका लागि उनले अर्को विवाह गर्नुपरेको हो ।
छोराले बुहारी भित्र्याएकोमा खुशीले गद्गद् भएकी ८६ वर्षिय आमा हरिकला सापकोटाले विधि अनुरुप नै बुहारी भित्राएको बताइन् ।





