‘रअ’का प्रमुखसँग भेटघाट भन्ने भ्रमपूर्ण समाचारप्रति नेपाली सेनाको ध्यानाकर्षण



११ साउन २०७६, काठमाडौं

केही दिनअघि  बिभिन्न अनलाईन मिडियाले नेपाली सेनाका प्रधानसेनापतिले ‘रअ’का प्रमुखसँग भेटघाट तथा छलफल गरेका भनी प्रकाशन गरेको समाचार प्रति नेपाली सेनाले गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘नेपाली सेनाको छवीमै आँच पुर्याउन सक्ने तथा आमजनमानसमा सेनाप्रतिको आस्था एवम् विश्वासमा समेत ठेस पुग्न सक्ने यस प्रकारको संवेदनशील विषयमा यस संस्थाको आधिकारिक निकायसँग सूचनाको विश्वसनीयता प्रमाणित नगराई सस्तो लोकप्रियताको लागि कपोलकल्पित समाचार सम्प्रेषण भएको देखिन्छ ।’

साथै ती समाचारहरू सरासर झुटो, मनगढन्ते एवं सुनियोजित भएको सेनाले दाबी गरेको छ ।

उक्त विज्ञप्तिको अन्त्यमा भनिएको छ– ‘भविष्यमा सत्य–तथ्यमा आधारित समाचारहरू संप्रेषण हुने विश्वासका साथ उल्लेखित विषयको संवेदनशीलताप्रति पुनः एकपटक गम्भीर ध्यानाकर्षण गराउँदै आधारहीन समाचारबाट भ्रममा नपर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गमा समेत हार्दिक अनुरोध गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्