
११ साउन २०७६, देवचुली/दिपक शर्मा,
१ वर्ष अगाडी कञ्चनपुरमा बलात्कारपछी हत्या भएकी किशोरी निर्मला पन्तको बार्षिकीको अवसरमा देवचुलीका किशोरीहरुले ‘म अर्को निर्मला पन्त हुनँ चाहदीन’ भन्दै आत्मसुरक्षा र हिंसाबाट बच्ने उपायहरुको बारेमा तालिम सम्पन्न गरेका छन् ।

समाजमा किशोरीहरु र महिलाहरुमाथी हुने विभिन्न हिंसाका स्वरुपहरु अन्त्य गर्नुपर्ने र आफू सुरक्षित हुनका लागि आवश्यक पर्ने विभिन्न शारीरिक र सैद्धान्तिक ज्ञानहरुको बारेमा तालिम सञ्चालन गरिएको कुरा किशोरी सशक्तिकरण कार्यक्रमकी एक किशोरी साथी शिक्षक निरुता खत्रीले बताईन् ।

जागृति बाल तथा युवा सरोकार नेपालले किशोरी सशक्तिकरण कार्यक्रमका किशोरीहरुद्वारा नगरका सबै वडाका विद्यालयमा र समुदायमा यस्तो खालको तालिमहरु सञ्चालन गर्दै आईरहेका छन् ।

हिजो र आज गरी २ दिनसम्म देवचुली नगरपालिका वडा नं. १७ मा अवस्थित वरचुली माध्यमिक विद्यालयका किशोरीहरुलाई उक्त तालिम सञ्चालन गरिएको र उनीहरुलाई आत्मसुरक्षाका विभिन्न सिपहरुको बारेमा शारीरिक अभ्यासहरु र हिंसामा पर्न लागेको बेला वा देखेमा कसरी सम्पर्क गर्ने भन्ने बारेमा समेत सिकाएको कुरा विद्यालयका शिक्षक ईश्वर लोहनीले बताए ।

आफ्नै विद्यालयका दीदीहरुद्वारा यस्तो तालिमहरु विद्यालयमा नै प्राप्त गरेकोले सम्पूर्ण किशोरीहरु खुशी हुँदै तालिमको समापनमा हिंसा विरुद्धको अभियानमा लाग्ने र म अर्को निर्मला पन्त हुँन चाँहन्न सरकार, हामीलाई सुरक्षा दे भन्ने धारणा समेत व्यक्त गरे ।

१ वर्ष अगाडी कञ्चनपुरमा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछी हत्या भएको आज एक वर्ष भएको छ । दोषी पत्ता लगाउन नसकेकोले सरकारको चौतर्फी विरोध समेत भईरहेको छ ।






