हामी विकाससँगै हिंसा रहित समाज निर्माण गर्न चाहन्छौं : डा. राजन भट्टराई



१० साउन २०७६, काठमाडौं

नेकपा केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेकपाले संचालन गरेको बर्तमान सरकार समृद्ध नेपालसँगै हिंसा रहित समाज निर्माणमा अघि बढिरहेको बताएका छन् ।

संघर्षशील महिला विकास समिति र महानगरीय प्रहरी प्रभाग कपनद्वारा आयोजित सूचनाको हक, महिला तथा लैङ्गिक हिंसाका कारणहरु, कानुनी प्रावधान, समस्या तथा समाधानका उपायहरु विषयक प्रशिक्षणमा डा. भट्टराईले, ‘सामाजिक दृष्टिकोणका कारण म र मेरो श्रीमती घरबाट काम गर्न सँगै अफिस गएर सँगै घर फर्किदा पनि घरमा घरेलु काम श्रीमतीले नै गर्ने चलन रहेको भन्दै यसलाई क्रमिक रुपमा घटाउनु पर्ने बताएका छन् ।

विद्यालयका बालबालिकाहरुलाई महिला तथा लैङ्गिक हिंसाका कारणहरु र त्यसलाई हटाउने उपाय बताउन सके भावी पिढीमा रुपान्तरण हुन सक्ने समेत उनले प्रष्ट पारे ।’

महानगरीय प्रहरी बृत्त महाराजगंजकी प्रहरी निरीक्षक अनिता महतले महिला हिंसाको अवस्था र कानुनी उपचारको बाटोमा आफ्नो प्रशिक्षण दिएकी थिईन् भने सीपि आचार्यले सूचनाको हकबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का राजु अधिकारी, कपन प्रहरी प्रभाग प्रमुख मिन बहादुर कुँवर, स्थानीय जनप्रतिनिधिहरु, नेकपा नेताहरु, महिला अधिकारकर्मीहरु र विद्यालयका बालबालिकाहरुको सहभागिता रहेको थियो ।

संघर्षशील महिला विकास समितिकी अध्यक्ष नम्रता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा समितिकी उपाध्यक्ष टिका दाहालले स्वागत गरेकी थिईन् ।

 

प्रतिक्रिया दिनुहोस्