
०९ साउन २०७६, काठमाडौँ
भारतको विहारस्थित मधुवनमा ‘असामान्य’ लाग्ने एउटा ढुंगा आकाशबाट खसेको छ । उक्त ढुंगा गत सोमबार मध्यान्हको समयमा खसेको समाचारमा जनाइएको छ। आकाशबाट करिब १० किलोको ढुंगा खसेपछि हेर्नेहरूको भीड लागेको छ । ढुंगा खस्दा ठूलो आवाजसँगै धुँवा पनि देखिएको थियो । ढुंगा खसेको समयमा आएको आवाजले सो क्षेत्रको खेतमा काम गर्ने मजदूरहरु डरले भागेका थिए ।
मधुवनी जिल्लाअन्तर्गत लौकहीको कौरियाही ककहिया बधारमा खसेको सो ढुंगा हेर्न सरकारी अधिकारीहरु पनि पुगेका छन् । सो ढुंगामा चुम्बकीय शक्ति रहेको अधिकारीहरूले बताएका छन् ।
घटनाको जानकारी पाउनसाथ सो क्षेत्रका सीओ त्रिपुरारी श्रीवास्तव र प्रखण्ड प्रमुख वरुण कुमार बिहारी पनि घटनास्थल पुगेका थिए ढुंगा ५ फिट माटोमा भासिएको थियो । यतिबेला सो ढुंगालाई प्रहरीले राखेको छ । मधुवन्नीका डिएम कपिल अशोकले ढुंगा अहिले प्रहरीसँग रहेको र छिट्टै सम्बन्धित विशेषज्ञकहाँ पुर्याइने जानकारी दिए ।





