आधिकारिक ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार छैनः प्रधानमन्त्री



०८ साउन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन खारेज नहुने बताएका छन् ।

बुधबार बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका पदाधिकारीहरूसँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले युनियन खारेज गर्ने पक्षमा सरकार नरहेको बताए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले कर्मचारी प्रशासनले सहयोग गरेको छैन् भन्ने नभएको स्पष्ट पार्दै त्यसलाई अझ प्रभावकारी, स्वच्छ र सेवा उन्मुख बनाउनुपर्ने आवश्यकता पनि औंल्याए ।

उनले सरकारलाई दिमाग र कर्मचारीहरूलाई हातखुट्टाको रुपमा चित्रण गर्दै कर्मचारीको सहयोगबिना सरकार एक्लैले केही पनि गर्न नसक्ने समेत स्मरण गराए । प्रधानमन्त्री ओलीले कर्मचारीहरूको उपयुक्त माग पूरा गर्ने आश्वासन दिँदै आन्दोलन गर्ने  धम्की नदिन पनि सचेत गराए ।

त्यस अवसरमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले स्थानीय तहमा जाने कर्मचारीहरू अलपत्र परेकाले उनीहरूको समस्या तत्काल समाधान गरिदिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्