
०६ साउन २०७६, काठमाडौं
पशुपति बहुमुखी क्याम्पसमा ‘गजल वाचन कार्यक्रम’ सम्पन्न भएको छ ।
‘पशुपति साहित्यिक समाज’ले मासिक रुपमा गर्दै आएको ‘गजल वाचन कार्यक्रम’ शनिबार सम्पन्न भएको हो ।
विगत ५ महिनादेखि संचालन हुँदै आएको गजल वाचन कार्यक्रममा अन्य विधाका साहित्यले पनि स्थान पाउने गर्दछन् ।
कार्यक्रममा क्याम्पसका शिक्षक शिक्षिकका, विद्यार्थी/यूवा नेता तथा अन्य श्रष्टा सर्जकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रस्तुत भएका केही उत्कृष्ट रचनाहरुः
फिर्ता त्यही बट्टामा मुटु दिन सक्छु
तिम्रो गुलाफको सट्टामा मुटु दिन सक्छु
माया कत्ति गर्छौ भनी नजिस्क्याउ मलाई
कुनै दिन ठठ्टाठट्टामा मुटु दिन सक्छु
तिम्रा हातका स्पर्श गराइरहन्छौ भने
खेल्न तिमीलाई गट्टामा मुटु दिन सक्छु
जुन दिन मेरो दिलबाट अवकाश लिन्छौ
तिमीलाई पेन्सन पट्टामा मुटु दिन सक्छु
ताजमहल बन्छ भने हाम्रो प्रेमनिसानीको
म त्यो इटाभट्टामा मुटु दिन सक्छु
नुहाउदा तिम्रो पिनामा नै बसाउने गरि
त्यो तोरी पेल्ने घट्टामा मुटु दिन सक्छु
उज्ज्वल उजागर गौतम
जसले बाध्यतामा काटेको हो भुरा काट्न पनि
उ कहाँ डराउछ र अब टुहुरा काट्न पनि
जो आजसम्म देशको राजधानी फर्किएन
उसलाई मुस्किल भएको हो बाजुरा काट्न पनि
श्रीमान् मरेको दिन बचेकी श्रीमतीलाई
कति अप्ठ्यारो लाग्यो हो चुरा काट्न पनि
मेरा दुई हात काट्नुअघि जिब्रो काट्नुहोस
नत्र कहाँ दिन्छु महोदय कुरा काट्न पनि
मित्र भन्छ दुश्मनको घाटी रेटेर बदला लिउ
आफुलाई डर लाग्छ यार कुखुरा काट्न पनि
लोकेश क्षितिज
संस्कारबिनाको घरलाई घर के भन्नू
यो शहरलाई पनि खै शहर के भन्नू
मेरो सरकार गफहरु गर्ने काम गर्छ
गफै भए पनि त गर्दैछ नगर के भन्नू
आमा उपचार नपाएर गाउमै मर्छिन
छोरो शहरमा पढ्दैछ डाक्टर के भन्नू
म यता परदेशमा कारखाना धाउछु
श्रीमती धाउछे ब्युटिपार्लर के भन्नू
उनी अर्काको नहुन्जेल भन्न सकिन
अब साथ दिन्छु जिन्दगीभर के भन्नू
मार्मिक रोशन





