खेलकुद र राजनीतिका पर्याय जीवनराम श्रेष्ठ



०६ साउन २०७६, काठमाडौं

जीवनराम श्रेष्ठ विगत तीन दशकदेखि निन्तर राजनीतिमा सक्रिय छन् । उनले आफ्नो राजनीतिक यात्रा १४ वर्षको कलिलो उमरमै सुरु गरेका थिए । वि.स.२०३६ सालमा सिङ्गो देशलाई जगाउँदै सुरु भएको विद्यार्थी आन्दोलनले पञ्चायती शासनको मुटु नै हल्लाएको थियो । जसको उभारलाई थेग्न नसकेपछि तत्कालिन सरकार जनमतसंग्रह गराउन बाध्य भयो । त्यही विद्यार्थी आन्दोलनबाट प्रभावित श्रेष्ठ त्यसको केही समयपछि नै त्यतिबेलाको भूमिगत नेकपा (माले) मा आवद्ध हुँदै काठमाडौँका भित्री बस्तीहरुमा आन्दोलनको वातावरण निर्माणमा सक्रिय रहेका थिए । कलिलो उमेरमै उनले पार्टीको संगठन निर्माण, विस्तार, नेतृत्वको सुरक्षा जस्ता जिम्मेवारीहरु निर्भिकतापूर्वक निर्वाह गरेका थिए ।

बाल्यकाल र पारिवारिक अवस्था
जीवनरामको जन्म बुवा कृष्णराम र आमा वसन्तमाया श्रेष्ठको कोखबाट वि.स.२०२२ साल पुष १५ गते काठमाडौँको स्वयम्भु स्थित धिमेलोहं टोलमा भएको हो । आर्थिक हिसावले उनी मध्यम वर्गीय परिवारमा जन्मिएका हुन् । उनी अहिले श्रीमती प्रतिभा जोशी र दुई छोराहरु सफलराम तथा साहसरामका साथ डल्लु आवासमा बस्दै आएका छन् । जुझारु एवं सरल स्वभावका उनको सानैदेखि खेलकुद र राजनीतिप्रति समान लगाव रहेको थियो । प्रगतिशिल विचारलाई अगाडि बढाउन राजनीतिलाई सबैभन्दा उत्कृष्ट माध्यम ठान्ने श्रेष्ठ खेलकुद पनि व्यक्तिगत स्वास्थ्य र राष्ट्रको गरिमाका लागि उत्तिकै जरुरी छ भन्ने कुरामा दृढ छन् । व्यवस्थापन विषयमा स्नातक गरेका श्रेष्ठ आफ्नो व्यक्तिगत जीवन भन्दा सामाजिक जीवन मार्फत राजनीति र खेलकुद साथसाथै लिएर अघि बढीरहेका छन् । नेपालमा श्रेष्ठ लगायतका अगुवाहरुको निरन्तरको संघर्षपछि प्रमुख राजनीतिक दलहरुले खेलकुदलाई आफ्नो एजेण्डा बनाएको कुरा सर्ब स्वीकार्य जस्तै भएको छ ।

राजनीतिक जीवन
जीवनराम श्रेष्ठको राजनीतिक जीवनको सुरुवात २०३६ सालको विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । उनले तत्कालिन भूमिगत नेकपा (माले) मा आवद्ध हुँदै पञ्चायत विरोधी आन्दोलनमा सक्रियतापूर्वक सहभागी भए । तत्कालिन समयमा प्राक, शाखा, वडा, नगर, जिल्ला र अञ्चल कमिटीमा रहेर उनले पार्टीबाट पाएका सम्पूर्ण जिम्मेवारीहरु सफलतापुर्वक पुरा गरे । वि.स. २०४३ सालमा काठमाडौँ वडा नम्बर १५ को सक्रिय दलको सचिवका रुपमा जनआन्दोलन सफल बनाउन र पार्टी विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए । २०४६ सालमा प्रजातन्त्र पुर्नस्थापनाका लागि भएको आन्दोलनमा उनी निकै सक्रिय भूमिकामा रहे । २०४७ सालमा पार्टीको युवा संगठन गठनका रुपमा वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठन भएको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायु संघ) को प्रारम्भिक अवस्थादेखि नै उनी सक्रिय थिए । संघको २०४८ सालमा भएको प्रथम सम्मेलनबाट केन्द्रिय सदस्यमा निर्वाचित भई रचनात्मक विभाग प्रमुख छानिए त्यसपछि संघको विभिन्न जिम्मेवारी पुरा गर्दै उनले उपाध्यक्ष भएर समेत काम गरे । पार्टीको भातृ संगठनका रुपमा नेपाल खेलकुद महासंघ गठनको पहलकदमी पनि उनकै नेतृत्वमा भएको थियो । केही समय उनले महासंघको इन्चार्जको रुपमा समेत भूमिका खेले ।

यही बीचमा उनी २०४९ सालमा भएको स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको १५ नम्बर वडाको वडाध्यक्ष भई नमुना काम गरे । उनको कार्यकालमा सडक, ढल, पार्क, आधुनिक कार्यालय भवन निर्माण जस्ता उदारहणीय काम सम्पन्न भए । यसले उनको राजनीतिक उचाई र लोकप्रियतालाई थप उचाई प्रदान गर्याे । पञ्चायती शासनकालभर पछाडि परेको यो वडाले विकासको सही मार्ग लिएको श्रेष्ठकै कार्यकालमा हो । त्यतिबेला उनले १३ नम्बर वडाका तत्कालिन जनप्रिय अध्यक्ष जीवनराज मानन्धर अस्वस्थ भएपछि त्यस वडाको अध्यक्षका रुपमा समेत भूमिका निर्वाह गरे ।

दोश्रो जनआन्दोलन परिचालनका लागि श्रेष्ठलाई पार्टीले काठमाडौँका भित्रि वस्तीहरुमा खटाएको थियो । तत्कालिन राजा ज्ञानेन्द्रको निरङ्कुश शासनका विरुद्ध जनतालाई सचेत बनाउँदै सडकमा ओराल्ने कार्य साँच्चिकै चुनौतीपूर्ण नै थियो । तर उनले त्यसलाई कुशलतापूर्वक सम्पन्न गर्न सफल भए । २०६५ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौँ महाधिवेशनमा उनले केन्द्रीय कमिटिमा निर्वाचित भई काठमाडौँ जिल्ला इन्चार्जका रुपमा भूमिका निर्वाह गरे ।

पार्टी राजनीति र जनपक्षिय राजनीतिलाई सँगसँगै अगाडि बढाईरहेका जीवनराम श्रेष्ठले २०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ मा उम्मेदवार बन्दै निकटतम प्रतिस्पर्धी बनेका थिए । त्यसयता उनी निरन्तर रुपमा जनताबीच क्रियाशिल छन् । उनले २०७२ सालको भूकम्पका बेला राहत र उद्धारमा आफूलाई दिलोज्यानले समर्पण गरे । यसका अलावा जन सरोकारका विषयमा पनि श्रेष्ठले आफुलाई झनै सक्रिय बनाउँदै गए । त्यही सक्रियता, समग्र निर्वाचन क्षेत्र विकासको दीर्घकालीन योजना र इमान्दारिताको कदर गर्दै पार्टीले वाम गठबन्धनका तर्फबाट उनलाई संघीय प्रतिनिधिसभा सदस्यको संयुक्त उम्मेदवारका रुपमा प्रतिस्पर्धाको मैदानमा उतारेपछि श्रेष्ठ २०७१ सालमा काठमाडौँमा सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट लोकप्रिय मतसहित दोश्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा निर्वाचित भए ।

खेलकुदका पर्याय जीवनराम
तत्कालिन नेकपा (माले) तथा हालको नेकपा (एमाले) भित्र खेलकुदको विषय प्रवेश गराउन श्रेष्ठको अग्रणी भूमिका रहेको छ । केहीवर्ष अघिसम्म खेलकुद फौजी संगठन र केही सम्भ्रान्तहरुका लागि मात्र आवश्यक छ भन्ने मानसिकता थियो । तर जीवनराम श्रेष्ठ लगायतका सीमित युवाहरुको निरन्तरको संघर्षले आज खेलकुदमा सर्वसाधारणको पहुँच विस्तार भएको छ । ‘स्वस्थ जीवनका लागि खेलकुद’ भन्ने मुख्य सिद्धान्तलाई नेपाली समाजमा स्थापित गराउन श्रेष्ठको विशेष भूमिका रहेको छ ।

२०५३ साल जीवनराम श्रेष्ठको जीवनमा केही योगदान दिन सक्ने नयाँ आयाम बनेर आयो । सोही वर्ष नेकपा (एमाले) का तर्फबाट उनी राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्त भए । छोटो अवधिमा उनले चीन सरकारसँग सुमधुर सम्बन्ध स्थापित गरी चीनकै सहयोगमा आठौँ साफ खेलकुद प्रतियोगिताको पुर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरे । ललितपुरको सातदोबाटोमा निर्मित पूर्वाधार सम्पन्न स्विमिङ पुल, सुटिङ रेन्ज, स्पोर्ट्स हस्पिटलको स्थापना, त्रिपुरेश्वर स्थित रंगशाला र अन्य खेल मैदानको स्तर वृद्धिमा उनको विशेष योगदान रहेको छ । उनकै अग्रसरतामा उत्कृष्ट नतिजा ल्याउने खेलाडीहरुलाई आजीवन भत्ताको व्यवस्था गरेर खेलाडीहरुलाई उत्साहित गर्ने कार्यको प्रारम्भ गरिएको थियो ।

दोश्रो पटक ३०६३ सालमा राखेपको सदस्य सचिव नियुक्त भएपछि दश वर्षसम्म सञ्चालन हुन नसकेको वृहत पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०६५ काठमाडौँमा भव्यतापूर्वक सम्पन्न भयो । जसले खेलाडीहरुको खेल जीवनमा केही उत्साह ल्याउने काम गर्यो । यही अवधिमा उनले मुलुकको समग्र खेलकुद विकासका लागि दुरगामी सोचका साथ नयाँ नीति एवं कार्यक्रमका रुपमा ‘भिजन ट्वान्टी ट्वान्टी’ अगाडि सारे । यो नीतिले खेलकुदमा क्रमिक योजनावद्ध विकास गर्दै सन् २०२० सम्ममा ओलम्पिक पदक जित्ने महत्वकांक्षी लक्ष्य सार्वजनिक गरे । जीवनराम श्रेष्ठले नै मुलुकमा पहिलो पटक स्पोर्टस एकेडेमी स्थापना गर्ने पहल गरेका थिए । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालबाट मकवानपुरको हेटौँडामा त्यसको शिलान्यास गरी कार्य प्रारम्भ समेत गराएका थिए तर अस्थिर राजनीतिको उपज कार्यकाल पुरा गर्न नपाउँदै लोकतान्त्रिक मुल्य मान्यतालाई अंगिकार गर्दै सदस्य सचिवको पदत्याग गर्नुपर्याे । खेलकुद परिषद्मा दुई पटक नेतृत्वमा बस्दा चार वर्षको कार्यकाल पुरा नहुँदै श्रेष्ठले सरकार परिवर्तनपछि नैतिकताका आधारमा राजिनामा दिए । श्रेष्ठ नेपाल ओलम्पिक कमिटीको महासचिव हुँदै हाल अध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन् । यही आधारमा उनी ओलम्पिक साउथ एशियन ओलम्पिक काउन्सीलको अध्यक्ष बन्न सफल भएका छन् ।

जीवनराम श्रेष्ठले एउटा राजनीतिकर्मी र खेलकर्मीका हैसियतमा विश्वका विभिन्न देशको भ्रमण गरेका छन् । उनी राजनीति मात्र नभएर अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिक मामिलामा समेत दक्षता राख्दछन् ।

निर्वाचन क्षेत्र विकासका योजना
काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा परेका मध्ये महत्वपूर्ण सम्पदा मध्यका दुई स्वयम्भुनाथ र बसन्तपुर दरवार क्षेत्र निर्वाचन क्षेत्र नम्बर ८ मा पर्दछन् । यि सम्पदाहरुको संरक्षण र प्रवर्द्धन मार्फत यो क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र बनाउने योजना वाम गठबन्धनका संयुक्त उम्मेदवार जीवनराम श्रेष्ठसँग रहेको छ । उनले आफ्ना योजनाहरुलाई यसरी प्राथमिकतामा राखेका छन् ।

१. जनपक्षिय कानुन निर्माणमा नेतृत्वदायी भूमिका ।

२. काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा पर्ने विश्व सम्पदा सूचिमा सुचिकृत स्वयम्भुनाथ र हनुमान ढोका दरवार क्षेत्रको पुनर्निर्माण, संरक्षण एवं प्रवरद्धन ।

३. भूकम्प प्रभावित नागरिकका नीजी घर तथा सार्वजनिक सम्पदाहरुको पुनर्निर्माण ।

४. नेपालको संविधान २०७२ अनुसार नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउन तथा नेपाल सम्मतलाई प्रयोगमा ल्याउन ।

५.यस क्षेत्रमा पर्ने ऐतिहासिक तथा सांस्कृतिक महत्वका जिवित देवी कुमारी, आकाश भैरव, काष्ठमण्डप, लाखे घर, भीमसेन मन्दिर, शोभा भगवती, विजयश्वरी, आदेश्वर महादेव, शितापाईला मन्दिर आदीको पुनर्निर्माण एवं संरक्षण ।

६. सडक, खानेपानी, ढल आदीको स्तरोन्नती ।

७. विकास र सामाजिक सुरक्षाका हिसावले नमुना क्षेत्र निर्माण ।

प्रतिक्रिया दिनुहोस्