कपनको डुवान समस्या समाधानमा सक्रिय विकासवादी नेता डा. राजन भट्टराई (भिडियो सहित)



०६ साउन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाको वडा नं. ११ को कपन आनिगुम्बा, गुरुङ टोल क्षेत्रको डुबान समस्याको दीर्घकालीन समाधान गर्ने र बूनपा १०, १२ मा विस्तार भईरहेको ढल तथा सडक निर्माणको कामलाई गति दिने उद्देश्यले डा. राजन भट्टराई सडक विभागका महानिर्देशक केशब प्रसाद शर्मा, जिल्ला ईन्जिनियर प्रमुख कैलाश श्रेष्ठ, नगरप्रमुख उद्धव प्रसाद खरेल लगायत वडाध्यक्षहरुको टोली लिएर आज विहान १ घण्टा पानीमा भिज्दै डुवान क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

विकासवादी नेता डा. भट्टराईद्वारा कपन क्षेत्रको अनुगमन गरेको भिडियो : 

स्थलगत अनुगमनको क्रममा डा. भट्टराईले डुबान क्षेत्रबाट जनताले जसरी भएपनि मुक्ति पाउनुपर्ने बताउँदै माथिल्लो निकायबाट गर्नुपर्ने बजेट तथा अन्य प्रबन्ध आफूले मिलाउने बताउँदै आवश्यक प्रक्रिया पुर्याएर अगाडि बढ्न महानिर्देशक शर्मालाई अनुरोध गरे ।

सोहि समयमा काम गर्न आनाकानी गर्ने जिल्ला ईञ्जिनियरलाई महानिर्देशक शर्माले गम्भिरतापूर्वक काम नगरे जिम्मेवारीबाट उडाईदिने सार्वजनिक धम्की समेत दिएका थिए ।

स्थलगत अनुगमनको क्रममा डा. भट्टराईले अहिले भईरहेको ढल तथा सडक विस्तारको काममा गुणस्तर कायम नगरी सस्तो मूल्यको ह्युम पाईप प्रयोग भएको जानकारी समेत महानिर्देशकलाई बताएका थिए ।

केही दिन अघि बूनपा १२ मा आयोजित सार्वजनिक सुनवाईमा डा. भट्टराईले छिट्टै सरोकारवाला निकाय सहित स्थलगत  अनुगमन गर्ने प्रतिबद्धता अनुसार आज विहानको स्थलगत अनुगमन गरेका हुन् ।

स्थलगत अनुगमनपछि बूनपा १०, ११ र १२ का वडाध्यक्षहरुले डुबान समस्याको दीर्घकालीन समाधानको बाटो खोज्न डा. भट्टराई सहित आफूहरु लागि सक्रिय भई समस्या समाधान गरेरै छोड्ने बताए ।

अनुगमनमा डा. भट्टराई सहित नेकपा केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, नगरप्रमुख उद्धवप्रसाद खरेल, बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का अध्यक्ष राजु अधिकारी, १२ का अध्यक्ष शम्भु भट्टराई, समाजसेवी मिठाराम अधिकारी लगायत वडा सदस्यहरु र स्थानीय सरोकारवालाको उपस्थिति रहेको
थियो ।

प्रतिक्रिया दिनुहोस्