
०६ साउन २०७६, ईटहरी/रमेश पौडेल
इटहरीका प्रीतम आचार्य र आयुष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटका छन् । भेटमा प्रीतम र आयुषले सारेगमप रियालीटी शोमा सहभागी हुँदाको अनुभव सुनाएका छन् । आईतबार करिव ११ बजे प्रधानमन्त्रीसंग प्रीतम र आयुषले भेटघाट गरेका थिए । भेटघाट करिव एक घण्टा भन्दा बढि भएको र भेट पश्चात प्रधानमन्त्रीले आफ्नो स्वकीय सचिवको साथमा भाटभटेनी सुपर मार्केट लगेर सपिङ गरिदिएका प्रीतमका संगीत गुरु राजु केसीले जानकारी गराए ।
राजु केसीले भने, ‘प्रधानमन्त्रीले बाल गायकद्वयलाई राम्रोसँग पढनुपर्छ, तिमीहरुले राष्ट्रको लागि केहि गर्नुपर्छ, राम्रो गित गाउनु र तिमीहरुले अझ राम्रो गदै जानुू भनेर शुभकामना दिनुभयो ।’ प्रीतम आचार्यले प्रधानमन्त्रीलाई ‘जहाँ छन् बुद्धका आखा’ बोलको गीत गाएर सुनाएका थिए । प्रधानमन्त्रीले पनि प्रीतमको सो गीत प्रस्तुतीमा ताली बजाएका थिए ।

आयुष केसीले पनि ‘आफ्नै घर ढलेको छ’ बोलको गित गाएका थिए । भेघटघाटमा प्रधानमन्त्री लगायत मिडियाकर्मी र उच्च ओहोदाका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । भारतको चर्चित टेलिभिजन रियालिटी शो सारेगमप लिटिल च्याम्पमा प्रीतम तेस्रो र आयुष चैथो भएका थिए । इटहरी ५ स्थायी घर भई इटहरीकै विश्व आदर्शमा कक्षा ६ मा अध्ययनरत प्रितम उमेरले भर्खर १२ बर्ष लागेका छन् । उनले सङ्गीत र पढाइलाई सँगसँगै लागिरहेका छन् । प्रितमले भारतको शोबाट फर्किएपछि धेरै सम्मान र पुरस्कारहरु पाएका छन् भने अहिले विभिन्न कार्यक्रमहरुमा पनि निकै ब्यस्त भईरहेका छन् ।





