राज्य कोषबाटः मन्त्रीज्यूलाई लेदर ब्याग



०६ साउन २०७६, काठमाडौं

नेपालको परिप्रेक्ष्यमा अहिलेको बागडोर सम्हालिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आलोचनाको पात्र बन्नु नौलो कुरा होइन ।

‘सर्वहारा वर्गका लागि हो, हाम्रो राजनीति’ भनेर कहिल्यै नथाक्ने कम्युनिष्ट नेताहरु पनि सत्ता अनि शत्तिको रवाफमा अनुशासन बाहिर गएको थुप्रै उदाहारणहरु हामीसामु विद्यमान नै छन् ।

अति सामान्य व्यक्तिगत प्रयोजनका लागि पनि नेता तथा सांसदहरुले राज्य कोषकै दुरुपयोग गरेको समाचारहरु पनि पछिल्लो समय झनै बढ्दै गएका छन् ।

यसको पछिल्लो उदाहारण हुन्, नेपाल सरकारकी अहिलेकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्याल ।

उनले आफ्नो व्यक्तिगत प्रयोजनका लागि ब्याग समेत राज्य कोषबाट खरिद गरेकी छिन् ।

मन्त्रालयले मन्त्री अर्यालका लागि पाकिस्तानी लेदरको ब्याग ‘टार्गेट इन्टरप्राइजेज’मार्फत २०७५ साल फागुन १५ गते खरिद गरिदिएको तथ्य बिलभर्पाईले देखाएको छ ।

उक्त पाकिस्तानी लेदर ब्यागको १३ प्रतिशत भ्याटसहितको मूल्य १९ हजार ६ सय ६३ रुपैयाँ परेको छ । भ्याटबाहेक नै ब्यागको मूल्य १७ हजार ४ सय रुपैयाँ पर्ने देखिन्छ ।

यो रकम अंकमा हेर्दा सानो रकम भएपनि राज्य कोषको पैसा उच्चपदस्थका नेताहरुले कसरी दुरुपयोग गर्छन् भन्ने दरिलो उदाहारण हो ।

मन्त्रालयले मन्त्रीकै लागि भनेर सुटकेस र ब्रिफकेस समेत एकएक थान खरिद गरेको तथ्य फेला परेको छ ।

२०७५ सालको मंसिर २३ गते खरिद गरिएको सुटकेसको मूल्य ४६ हजार ८ सय ९५ र ब्रिफकेसको मूल्य १८ हजार ६ सय ४५ रुपैयाँ (भ्याटसहित) परेको बिलभर्पाइमा देखिन्छ ।

‘न्यु हिमालयन इन्टरप्राइजेज’ मार्फत खरिद गरिएका सुटकेस र ब्रिफकेस भने मन्त्रीको विदेश भ्रमणमा प्रयोग भएको एक कर्मचारीले बताए ।

‘सुटकेस र ब्रिफकेस मन्त्रीज्यू विदेश भ्रमण जाने क्रममा खरिद गरिएको हो,’ मन्त्रालयको स्टोर शाखाका अधिकृत रामबहादुर केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्