तनहुँमा १३ कुष्ठरोगका बिरामी



०४ साउन २०७६, काठमाडौं

तनहुँमा १३ जना कुष्ठरोगका बिरामी रहेका छन् । चार महिला र नौ पुरुष गरी १३ जना कुष्ठरोगका बिरामीले नियमित उपचार गरिरहेका छन् ।

व्यास नगरपालिकामा–पाँच, दुलेगौडामा दुई, बन्दीपुर गाउँपालिकामा–दुई, देवघाट गाउँपालिकामा–दुई र आँबुखैरेनी गाउँपालिकामा–दुई गरी १३ जना कुष्ठरोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका सहायक शिवचन्द्र महतोले जानकारी दिनुभयो ।

समयमा उपचार गरे कुष्ठरोग निको हुन्छ र अङ्गभङ्ग हुँदैन भन्ने चेतनाको अभावका कारण तनहुँमा कतिपय कुष्ठरोगका बिरामी रोग लुकाएर बस्ने गरेको उहाँले बताउनुभयो । महतोले भन्नुभयो, “समाजबाट हेलत्व हुने सोचका कारण कैयाँै मानिस रोग लुकाएर बस्ने प्रवृत्तिले गर्दा कुष्ठ रोगीको यकिन तथ्याङ्क सङ्कलन गर्न सकिएको छैन ।”

“नियमित औषधि सेवन गरे रोग निको हुन्छ”, उहाँले भन्नुभयो, “मानिस रोग पालेर बस्न् तयार हुन्छन् तर पनि स्वास्थ्य संस्थामा उपचारका लागि जान लाज मान्ने गरेको पाइएको छ ।” जिल्लाका सबै स्वास्थ्य संस्थामा कुष्ठरोगको निःशुल्क औषधिको व्यवस्था गरिएको र त्यस्ता रोगका बिरामीले समयमै नजिकको स्वास्थ्य संस्थामा गएर नियमित औषधि सेवन गर्न कार्यालयले आग्रहसमेत गरेको छ ।

कतिपय कुष्ठरोगी जिल्ला बाहिर गएर उपचार गर्ने गरेकाले पनि जिल्लाको तथ्याङ्कमा कुष्ठरोगीका सङ्ख्या कमी देखिएको सो कार्यालयले जनाएको छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामको सूक्ष्म किटाणुबाट लाग्ने हुँदा छालामा असर गर्दा शरीर नचिलाउने, छुँदा थाहा नहुने, दाग देखिने, छाला बाक्लो हुने, गिर्खा देखापर्ने र समयमा उपचार नगरे मांसपेशी कमजोर बनाइदिने लगायतको समस्या हुने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रमेश बाह्राकोटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्