पटनाको तेल अमलेखगञ्जमा २४ घण्टामा ठ्याक्क



०३ साउन २०७६, काठमाडौं

भारतको पटनाबाट पाइपलाइनमार्फत पठाइएको पेट्रोलियम पदार्थ नेपाल २४ घण्टामा आइपुग्ने भएको छ ।

पाइपलाइनको परीक्षणसँगै नेपालले पेट्रोलियम पदार्थ २४ घण्टामा प्राप्त गर्ने देखिएको हो ।  शुक्रबार दिउँसो पाइपलाइनमार्फत ल्याइएको डिजेल नेपालको अमलेखगञ्ज डिपोमा जम्मा गरिएको आयल निगमले जनाएको छ ।

पाइपलाइनमार्फत एक हजार किलोलिटर डिजेल अमलेखगञ्ज डिपोमा रहेको ट्याङ्कीमा जम्मा गरिएको हो ।  बिहीबार दिउँसो १२ बजे भारतको पटनाबाट पाइपमा पठाइएको तेल २४ घण्टापछि अमलेखगन्जको ट्याङ्करमा झरेको हो ।

डिजेल झरेसँगै परीक्षण सफल भएको निगमले जनाएको छ । पाइपलाइन २४ घन्टा नै चलाएमा एकै दिन ४८ लाख लिटर डिजल नेपाल ल्याउन सक्ने र यसले नेपालको माग धान्न सकिने निगमले जनाएको छ ।

पाइपलाइनबाट आउने डिजल भण्डारणको लागि अमलेखगञ्जमा ४१ लाख लिटर क्षमताका २ वटा र ३९ लाख लिटर क्षमताका २ वटा गरी १ करोड ६० लाख लिटर क्षमताका ४ वटा अत्याधुनिक टयाङ्की निर्माण भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्