गायिका आनीको श्रोत नखुलेको रकममाथि अन्तर देशीय अनुसन्धान हुने



०१ श्रावण २०७६, काठमाडौं

गायिका आनी छोइङ डोल्माले लुकाउन खोजेको १६ करोड ५० लाख रुपैयाँमाथि अन्तर देशीय अनुसन्धान हुने भएको छ ।

बैंकिङ प्रणालीबाट भित्रिएको ठूलो परिमाणको रकमको स्रोत नखुलेपछि सम्पत्ति शुद्धिकरण विभागले अन्तर देशीय क्रस बोर्डर अनुसन्धान अगाडि बढाउने भएको हो ।

स्रोत नखुलेका कारण मेगा बैंकले आनी छोइङ डोल्माको पैसा रोक्का राखिरहेको छ । कालोधनको अनुसन्धान गर्ने निकाय सम्पति शुद्धिकरण विभागले हङकङका सरकारी अधिकारीहरुको सहयोग लिएर अनुसन्धान गर्ने तयारी गरेको हो ।

हङकङको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ मा कार्यरत एक ब्यक्तिबाट १५ लाख डलर (विनिमय दर ११० रुपैयाँका हिसाबले १६ करोड ५० लाख रुपैयाँ) नेपाल ल्याएकी थिइन् ।

बैंकमा आनीका नाममा एकै पटक ठूलो रकम आएपछि त्यसलाई शंकास्पद भन्दै मेगाले राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइलाई खबर गरेको थियो ।

आनीले गलत ढंगबाट पैसा ल्याएको देखिएको भन्दै अनुसन्धानमा तानिएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्