प्रधानमन्त्री केपी शर्मा ओलीको दृष्टिकोणलाई नियाल्दा



०१ साउन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो कार्यकालको अवधिमा गरिएका सार्वजनिक कार्यक्रम, सार्वजनिक भेटघाटमा व्यक्त विचारहरुको संग्रह गरी दृष्टिकोण नामक पुस्तक बजारमा आएको छ ।

नागरिक र सरकार बीच अप्रत्यक्ष संवादको दायित्व बोकेका अंगहरु बेग्लै मिसनमा रहँदा पनि प्रधानमन्त्रीले नागरिकसँग जारी राख्नुभएको प्रत्यक्ष संवाद मार्फत देशलाई सहि बाटोमा डोहोर्याउने दृढ अभियानको दृष्टान्त हो ।

पुस्तकमा प्रकाशित विचारलाई देशलाई पछौटेपनबाट विकासतिर लैजाने प्रधानमन्त्रीको विचार र संकल्प, उहाँका शब्द मुद्रा मार्फत प्रस्तुत दर्शक र श्रोताको मनस्थिति, समाज, राजनीति र अर्थतन्त्रको समसामयिक चित्र भनिएको छ ।

हाम्रो देश आज जुन संकल्पका साथ जुन ठाउँमा आईपुगेको छ, समस्या, संकट र अवरोधहरु पार गरेरै आएको हो । देशलाई समृद्ध बनाउने प्रधानमन्त्रीको अठोटका सामु पनि अनेकौँ चुनौतिहरु छन्, कति कृतिम व्यवधानहरु खडा गरिएका छन् । भविष्यमा पनि त्यस्ता व्यवधानहरु खडा गरिने छन् । त्यस्ता व्यवधानहरू परास्त गरेर संकल्पलाई निरन्तरता दिनु अहिलेको आवश्यकता हो । यस पुस्तकका विचारहरुले त्यस कुरामा पनि जोड दिएका छन् ।

पुस्तकको पहिलो अध्यायमा एउटा कालखण्डको अभिलेख शीर्षकमा लेखिएको छ । ‘अहिले म एउटा यस्तो बिन्दुमा छु र सोचिरहेको छु–म सफल हुनुपर्छ कि असफल ? म सफल हुँदा के हुन्छ र असफल हुँदा के हुन्छ ? ‘। मैले बुझेको छु–म असफल हुँदा म मात्रै असफल हुन्न, देशलाई नै ठूलो प्रतिकूल असर पर्छ । देशको अर्थतन्त्रमा प्रतिकूल असर पर्छ । म असफल हुँदा देश विकास तथा समृद्धिको आकांक्षा असफल हुन्छ । त्यसकारण म अथवा मेरो नेतृत्वको सरकार असफल हुनुहुँदैन, तपाई, हामी, हाम्रो देशका जनता र जनताका आकांक्षाहरु असफल हुनु हुँदैन ।’–प्रधानमन्त्री केपी शर्मा ओली

पुस्तकमा अर्थ र विकाससँग सम्बन्धित २२ विचारहरु समेटिएका छन् । त्यसैगरी विचार र राजनीति शिर्षकमा १६ विचारहरु, व्यक्ति र व्यक्तित्व र इतिहासमा ७ विचारहरु, शिक्षा र विज्ञान–प्रविधि र खेलकुदमा ७ विचारहरु, राष्ट्र र राष्ट्रियतामा ४ विचारहरु, परराष्ट्र र कुटनीतिमा १ विचार, स्वास्थ्य र वातावरणमा ३ विषयहरु र कला संस्कृतिमा २ विषयहरु समेटिएका छन् ।

रु. ५५० मूल्य रहेको पुस्तकमा ४५८ पृष्ठहरु छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले १२ फागुन २०७४  देखि २९ जेठ २०७५ सम्म गरेका सार्वजनिक भेटघाट र कार्यक्रममा अभिव्यक्त विचारहरुको संग्रहलाई मदन भण्डारी फाउन्डेशनले पुस्तकको रुपमा प्रकाशित गरेको हो ।  शार्दुल भट्टराईद्वारा सम्पादित पुस्तक १४ असार २०७६ मा प्रकाशन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्