काँग्रेस नेता तथा प्रदेश सांसद न्हुच्छेनारायण श्रेष्ठ विकास विरोधी हुन् : सह–सचिव कृष्ण हरि खड्का



३० असार २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ११, १० र १३ को खानेपानी समस्या समाधानको लागि निर्माण थालिएको डिप बोरिङ्ग निर्माण कार्यमा नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य न्हुच्छेनारायण श्रेष्ठको कारण अवरोध भएको भन्दै उनलाई विकास विरोधी नेताको रुपमा बुझ्न बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ का काँग्रेस नेता तथा कपन राममन्दिर खानेपानी उपभोक्ता समितिका सह–सचिव कृष्ण हरि खड्काले आरोप लगाएका छन् ।

कपनका पूर्व गाविस अध्यक्ष मिठाराम अधिकारीले आफ्ना दिबंगत आमाबुवाको स्मृतिमा बूनपा १३ स्थित आफ्नो निजि जग्गा निःशुल्क उपलब्ध गराई अहिले कम क्षमताको खानेपानी आयोजना संचालन भईरहेको छ । सोही जग्गामा बुढानीलकण्ठ ११, १० र १३ का १५०० घरधुरीलाई खानेपानी उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारबाट यस वर्ष विनियोजित बजेट मध्ये ३५ लाख र आगामी वर्षको बजेटबाट १ करोड ५० लाख बजेट विनियोजित भएको खानेपानी बजेट प्रदेश सांसद न्हुच्छेनारायण श्रेष्ठको कारण अन्योलमा परेको उपभोक्ता समितिका सचिव मुकुन्द शर्मा चालिसेको आरोप छ ।

सह–सचिव खड्काले परिवर्तन खबरसँगको कुराकानीमा भने, ‘प्रदेश सांसद श्रेष्ठ निर्वाचन हुनुपूर्व देखिनै व्यक्तिको जग्गामा खानेपानी निर्माण गरेको भन्दै अवरोध गर्दै आएकोमा अहिले सांसद हुँदा पनि सोहि चरित्र देखाएको भन्दै सांसदले संयोजन गर्नुपर्नेमा एकपक्षीय ढंगले यहाँ गर्न मिल्दैन । तपाईहरु जानुस् भन्दै काम गर्न आएको डोजर फर्काएको आरोप लगाए ।

कपन राममन्दिर खानेपानी उपभोक्ता समितिका सदस्यहरु सांसद न्हुच्छेनारायणले टुपेकबाट ५/७ जना हल्ला गर्ने मान्छे ल्याएर विकासको काममा अवरोध गरेको भन्दै उपयुक्त समयमा बदला लिने भन्दै आक्रोशित भएका छन भने विरोध गर्नेहरु संचारको ग्याप भएको, आफूले प्रयोग गर्ने पानी भविष्यमा सुक्न सक्ने भन्दै विरोध गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्