गृहमन्त्री ज्यू, ‘हाम्रो पार्टी’का संस्थापक तथा डियरवाक कलेजका मालिकलाई किन लाग्दैन साईबर क्राईम ?



२९ असार २०७६, काठमाडौं

डा. रुद्र राज पाण्डे काठमाडौं महानगरपालिका वडा नं. ७, सिफल स्थित डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीका मालिक मात्र होईनन् अमेरिकामा दर्ता भई संचालित डियरवाक कम्पनीका मालिक र अरुपनि विभिन्न आईटि कम्पनीमा आवद्ध वौद्धिक व्यक्ति हुन् ।

सामाजिक साईटहरुबाट डा. पाण्डे हाम्रो पार्टीका परिकल्पनाकार र संस्थापक समेत रहेको प्रष्ट देखिन्छ । पार्टीको वेवसाईटमा उनी संस्थापक भएको विवरण प्रष्ट उल्लेख छ ।

नेपालमा कुनैपनि पार्टी खोल्न, दर्ता गर्न र संचालन गर्न जोसुकै नेपाली नागरिकले समेत पाउछन् । डा. पाण्डेले यतिसम्म गरेको काममा कुनै गैरकानुनी काम गरे जस्तो देखिदैन तर पिएचडी जस्तो विशिष्ट श्रेणीको डिग्री प्राप्त गरेका व्यक्तिले चलाएको हाम्रो पार्टीको आधिकारिक सामाजिक पेजहरुमा पोष्ट गरेका सामाग्री र भाषिक प्रयोग हेर्दा उनी र उनको पार्टीको केन्द्रीय कार्यसमितिका व्यक्तिहरुलाई साईबर कानुन नलाग्ने कारण नै देखिदैन् ।

‘हाम्रो पार्टी’ सामाजिक रुपमा क्रियाशील देखिदैन । सायद उनको कलेजका पूर्व र वर्तमान विद्यार्थीहरु नै हाम्रो पार्टीका हर्ताकर्ता होलान । सामाजिक रुपमा कुनै गतिविधि नदेखिएको पार्टीले आईटिको प्रयोग गरेर बनाएका सामाग्री र त्यसमा प्रयोग भएको भाषा सुन्दा उनको पार्टी वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरु तथा कम्युनिष्ट पार्टीका नेताहरुको चरित्र हत्या गर्न स्थापना भएको प्रष्ट देख्न, सुन्न र बुझ्न सकिन्छ ।

एउटा पोष्ट गरेको आधारमा विद्यालयका प्रधानाध्यापकलाई कारवाही गर्ने गृहमन्त्री समाचार प्रकाशन गरेकै आधारमा पत्रकारहरुलाई समेत कारवाही गर्न पछि परेका देखिदैनन् । साप्ताहिक रुपमा पोष्ट गरी लाखौंलाख जनतालाई भ्रम सिर्जना गरी राजनीतिक पार्टी संचालन गर्ने डा. पाण्डे र उनको पार्टी प्रति सरकार मौन किन ?

हेर्नुहोस हाम्रो पार्टीको वेवसाईट, फेसबुक एकाउन्ट, ट्वीटर एकाउन्ट र त्यसमा पोष्ट गरिएका भिडियोहरु :

प्रतिक्रिया दिनुहोस्