
२९ असार २०७६, काठमाडौँ
चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–१ तपेश्वरीमा शनिबार बिहान त्रियुगा नदीको बाँध फुट्दा तपेश्वरी क्षेत्रका पाँच सय भन्दाबढि घर डुबानमा परेका छन् ।
प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार त्रियुगा नदीको बाँध फुटेर पूरै त्रियुगा नदी तपेश्वरी क्षेत्रमा प्रवेश गरेपछि अहिले सशस्त्र प्रहरी नेपाल प्रहरी र नेपाली सेनाको टोलीले दुई सय जनाको उद्धार कार्य गरिसकेको छ भने अन्यको पनि उद्धार कार्य जारी छ ।
पूरै तपेश्वरी गाउँनै त्रियुगा नदीको डुबानमा परेको र हेलिकप्टर मगाउन प्रयास गरिए पनि उडान हुन नसक्ने अवस्था नरहेको बताइएको छ । जसका कारण अहिले प्रदेश नं १ इटहरीसहित जिल्लाका सुरक्षाकर्मी ‘जेटबोट’ परिचालन गरेर तपेश्वरीमा उद्धारकार्यमा जुटेका प्रजिअ खड्काले जानकारी दिए । अहिले नै रेडक्रससहित औषधि, लत्ताकपडा खानेकुराका लागि सहयोग गर्ने टोली पनि तपेश्वरीतर्फ पठाउने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तपेश्वरी क्षेत्रमा थप क्षति हुन नदिन नेपाली सेना र सशस्त्र प्रहरी इटहरीबाटसमेत थप सामग्री मगाएर उद्धार कार्य सुरु गरिएको प्रजिअ खड्काले जानकारी दिए्का छन् ।
यस्तै कटारी नगरपालिकाको कटारी बजारस्थित तावा खोला किनारका पच्चीस घर मुसहरबस्तीसमेत डुबानमा परेपछि अहिले सो क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको प्रजिअ खड्काले जानकारी दिएका छन् ।





