डिजिटल जमानाका डिजिटल सम्बन्धहरु



२४ अषाढ २०७६, काठमाडौं

हातमा स्मार्ट फोन लिएकी छोरी मोटु–पत्लुमा रमाउँछे अनि उतै निदाउँछे । स्मार्ट फोनको लत लागेको छोरो पब्जीमा रमाउँदै रात गएको थाहा पाउँदैन ।

बाहिरबाटै श्रीमान् सोध्छ, खाना पाक्यो? श्रीमतीले खाना पकाइरहेको तस्वीर खिचेर पठाउँछे । एउटै ओछ्यानमै समय व्यातीत गरिरहेका श्रीमान् –श्रीमती भाइबरमा रमाउँछन् ।

भर्खरका प्रेमील जोडीहरु इमोको लभ रियाक्टमा बाँच्छन् । समकालीन साथीहरु ह्वाट्सएपको सहारामा बाँच्छन् ।

उनीहरु कहिल्यै ठाँन्दैनन्, कि एकआपसमा बसेर मायाँ साट्नुपर्छ । आदरभाव व्यक्त गर्नुपर्छ । सामिप्यतामा बाँच्नुपर्छ, भनेर ।

मोटु–पत्लुमा रमाउँने छोरी कहिल्यै ठान्दिनन् आमासँगैं बसेर, सुतेर आमाको मुखबाट ती पुराना दन्त्यकथाहरु, लोककथाहरु सुन्नुपर्छ, भनेर ।

अनि ती आमाले पनि कहिल्यै सम्झिन्नन्, छोरीलाई लोरी गाएर सुताउनुपर्छ, फकाउनुपर्छ भनेर । उनले त्यो नै कष्ट गर्दिनन् ।

भर्खरका प्रेमील जोडीहरु आवश्यक नै ठान्दैनन्, नजिक हुनुपर्छ, प्रेमील भावहरु साटासाट गर्नुपर्छ भनेर ।

किनकी, उनीहरु सबै डिजिटल जमानाका उत्पादनहरु हुन्, उनीहरु डिजिटल सम्बन्ध अनि प्रेममै बानी परेकाहरु छन् ।

फेसबुकको फ्रेन्ड्स रेक्वेस्टबाट सुरु भएको सम्बन्धमा फेसबुककै ब्लकमा गएर टुंगिन्छ । शारीरिक आकर्षणबाट सुरु भएको सम्बन्धहरु कुन ठाउँको कुन कुना, कुन होटल, कुन रेष्टुराँ, अनि कुन पौवामा गएर टुंगिन्छ । थाहा हुँदैन ।

सोसल मिडियाहरु, इमो, म्यासेन्जर, भाइबर, ह्वाट्सएप, यो सबैले विस्तारै समाजमा रहेको परम्पराहरुलाई विस्थापन गर्दै गएको छ ।

मानिसहरु यही रमाउँछन्, यही खुसी हुन्छन्, खुसीको पल यतैतिर साट्छन्, दुःखको समयहरु यतै बिताउँछन् ।

प्रेम गर्नेहरु झनै यस्ता कुराको उपयोग गर्नुमा माहिर देखिन्छन् ।

प्रेममाः

प्रेमले मनमा बेग्लै उथलपुथल ल्याउँछ । खुसी र उमंग ल्याउँछ । तनाव पनि उत्तिकै दिन्छ । जब हामी प्रेममा हुन्छौं, मस्तिष्कमा कोर्टिसोल रिलिज हुन्छ ।

यो तनाव पैदा गर्ने हार्मोन हो । हामी अधैर्य हुन थाल्छौं । त्यसैले हाम्रो धैर्यताको परीक्षा सामान्यभन्दा बढी हुन्छ । यहि समय प्रेमी–प्रेमीकाहरूले सुन्दर सपना देख्छन्, देखाउँछन् । तर, विवाहपछि कैयौं अवस्थामा तिनै प्रेमकालमा देखिएका र देखाइएका सपनाहरू नै सम्बन्ध भत्काउने कमजोर खम्बा सावित भएका छन् ।

विवाहपछि प्रेमी र प्रेमिका आपसमा पति र पत्नी हुन्छन् । एउटा मान्छेको जीवनमा प्रेमी र प्रेमिका हुनु र श्रीमान श्रीमती हुनुका काम–कर्तव्यहरू नै फरक छन् । हिजोआजका कैयौं सम्बन्ध सम्बन्धको अर्थ नबुझेर पनि भत्किरहेका छन् ।

समाजका प्रेमी–प्रेमिकाले निर्वाह गर्ने भूमिका र श्रीमान्–श्रीमतीले निर्वाह गर्ने भूमिका अलग धार हुन् । यही भूमिकाको महत्वलाई नबुझ्दा सम्बन्धमा ठुलो खाडल पर्छ ।

कुनै पनि सम्बन्धको बलियो आधार भनेको विश्वास हो । जब सम्मविश्वास कायम रहन्छ तबसम्म त्यो सम्बन्ध टुट्दैन चाहे श्रीमान्–श्रीमतीको होस् वा अरु कसैको ।

एकले अर्कालाई गरेको विश्वासमा धमिलोपना नआउने हो भने सम्बध जुगौं जुगसम्म बलियो रहन्छ । जब सम्बन्धमा विश्वासको संकट पैदा हुन्छ तब सुरु हुन्छ वैचारिक द्वन्द्व अनि टुट्छ मानवीय मनसँग जोडिएको सम्बन्ध अदालतका कागजी खेस्राहरूमा ।

मानिस जमानासँगैं परिवर्तन हुनुपर्छ । तर, आफ्नो धरातल नै बिर्सिने गरि भने पक्कै पनि होइन ।

 

प्रतिक्रिया दिनुहोस्