अमेरिकाको राजधानी वाशिङटनमा भिषण ‘बाढी’ ह्वाइट हाउसमा पनि पानी पस्यो !



२४ असार २०७६, काठमाडौँ

वाशिङटन डिसी क्षेत्रमा अचानक बाढीको आपतकालीन स्थिति आइपरेपछि आवतजावत गरिरहेका यात्रुहरू जोखिममा परेका थिए । ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर चालकहरू फसेका थिए भने केही भूमिगत रेलमार्गमा खतरनाक डुबानको स्थिति देखा परेको थियो ।

केही चालकहरूलाई क्यापिटल बेल्टवेमा उद्धार गरिएको थियो।  कतिपय अन्डरपास मार्गहरूमा २ मिटरसम्म पानीको स्तर पुगेको थियो ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस समेत पानीबाट प्रभावित भयो । वेस्ट विंगको भूमिगत बेसमेन्ट तहमा भेल पसेको थियो ।

बाढीका कारण नेसनल आर्काइभ्स भवनमा बिजुली आपूर्ति अवरुद्ध भयो । तर कर्मचारीका अनुसार त्यहाँ राखिएका ऐतिहासिक अभिलेख तथा दस्तावेज सुरक्षित छन् । त्यहाँ स्वतन्त्रताको घोषणापत्र, संविधान एवं बील अफ राइट्स जस्ता महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज राखिएका छन् ।

मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ । प्रहरीले मानिसहरूलाई बाढी पसेका सडकमा नआउन सजग गराएको छ ।

प्रतिक्रिया दिनुहोस्