‘संघीयता नै आर्थिक समृद्धिको आधार स्तम्भ हो : युरोपियन युनियन राजदुत भेरोनीका कोडि



२३ असार २०७६, काठमाडौं

नेपाल र युरोपियन युनियन (ईयु)को कुटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पुगिसकेको छ । नेपालमा कार्यालय नै स्थापना गरी ईयुले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, सुशासन र लोकतन्त्रको क्षेत्रमा सहकार्य गरिरहेको छ ।

ईयु नेपालको विकासमा एक महत्वपूर्ण साझेदार निकाय पनि हो । ईयुले विगतदेखि वर्तमानसम्म गरेका कामहरु र पछिल्ला विषयहरुमा केन्द्रित रहेर  गरिएको कुराकानी :

नेपालका लागि युरोपियन युनियनको राजदुतको रुपमा यहाँको भूमिका (म्यानडेट) के रहेको छ ?

नेपालका लागि युरोपियन युनियन राजदुतको रुपमा काम गर्नु आफैंमा एउटा विशेषाधिकार र ठूलो जिम्मेवारी हो । म यहाँ ईयु नेपाल बीचको लामो सम्बन्ध बिस्तार र ईयुका आधारभूत सिद्धान्तहरुको संचालनका लागि काम गर्दैछु । मेरो म्यानडेट नेपालको हितका लागि नेपाल सरकार र समुदायसँग साझेदारी गर्नु रहेको छ ।

नेपाल र ईयुले अहिले कसरी सँगसँगै काम गर्दै आईरहेको छ ?

ईयु नेपालका लागि नयाँ साझेदार नभई हाम्रो सम्बन्ध निकै पुरानो हो । सन् २०१७ को नयाँ संविधान घोषणा भएसँगै केन्द्रिय र प्रदेसीय सरकारको उपस्थितिले नेपाल नयाँ युगमा प्रबेश गरेको छ । नेपाल विगतको समयमा द्वन्दको कठिन चरण पार गरिसकेको छ । युरोपियन युनियनले नेपाललाई उक्त स्थितीबाट विकासको नयाँ चरणमा प्रवेश गराउन विगतमा झैं निरन्तर रुपमा सहकार्य गर्दै आईरहेको छ ।

विगतदेखि अहिलेसम्म ईयुको नेपालमा प्राथमिकताका क्षेत्रहरु के–के रहेका छन् ?

तीन दशकदेखिका नेपाली चुनौतीहरु अहिले पनि विद्यमान छन् । यी चुनौतीहरु विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि, प्रजातन्त्र र सुशासन हुन् र यिनै क्षेत्रहरु अझै पनि ईयुको प्राथमिकतामा रहेका छन् । वर्तमान समयमा आईपुग्दा नेपालमा यी क्षेत्रहरुमा केही सुधार आएको र ईयुले आफ्ना कार्यक्रमहरु यसैमा केन्द्रित रहेर संचालन गर्दै आईरहेको छ ।

नेपालमा अझ पनि सीपमूलक दक्ष जनशक्तिको अभाव रहेको छ, यस सन्दर्भमा भन्नुपर्दा के ईयु नेपाली युवाहरुको लागि प्राविधिक तथा व्यवसायिक तालिम संचालनमा ईच्छुक रहेको छ ?

नेपालमा अझैपनि ठूलो जनसंख्यामा सीपमूलक दक्ष जनशक्तिको अभाव छ । युवाहरु विदेशिने चलन बढ्दै गईरहेको र यसले देशको सम्रग विकासमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले युवा जनशक्तिलाई स्वदेशमै प्रयोग गर्न सके फाईदाजनक हुन्छ । सही सीप दिएको खण्डमा सही अवसरहरु प्राप्त हुने र यसका लागि ईयुले विभिन्न प्राविधिक तथा व्यवसायिक तालिम संचालनमा विशेष जोड दिदैं आईरहेको छ ।

नेपाली उत्पादनलाई विश्वबजारिकरण गर्न ईयुले के कस्तो भूमिका खेल्दै आईरहेको छ ?

यस सम्बन्धमा ईयुले ई बि ए मार्फत् स्वदेशी उत्पादन युरोपियन बजारमा निर्यात गर्न सहकार्य गर्दै आईरहेको र उक्त उत्पादनको निश्चित मुनाफा नेपालमै रहने गरी विकासशील राष्ट्रहरुको अर्थतन्त्रमा थप टेवा पुर्याउँदै आईरहेको छ ।

युरोपियन युनियनको राजदुतको हैसियतले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन के गर्नुपर्ला रु र यसमा ईयुले के गर्दैछ ?

हामी यो विषयमा सोचिरहेका छौं विगतमा नेपाल पर्यटन बोर्डसँग मिलेर नेपालको प्राकृतिक सुन्दरता, कला, संस्कृति, भूगोल, विविधता, धार्मिक सम्पदा समेटेर प्रवर्द्धनात्मक भिडियो निर्माण गरेका थियौं ।  नेपाल पर्यटन वर्ष २०२० को लागि नेपाल पर्यटन बोर्डसँग मिलेर सांगितिक कार्यक्रमहरु साथै संयुक्त हस्पिटालिटी कार्यक्रम संचालन गर्न सक्छौं । यसको लागि नेपाल सरकार र पर्यटन बोर्डसँग मिलेर योजना बनाउन सकिन्छ ।

तपाईले अबको १० वर्षमा नेपाललाई कहाँ देख्नुहुनेछ ?

वास्तवमा भन्नुपर्दा अबको १० वर्षमा नेपाल कहाँ हुनेछ भन्ने प्रश्न आफैंमा जटिल छ । ईयुको आफ्नो सातौं वर्ष कार्यक्रम चक्रको अन्तिम चरणमा पुगिसकेको र अबको १० वर्षमा नेपालमा धेरै परिवर्तन हुने आशा लिएकी छु । मेरो विचारमा नेपाल विकासको महत्वपूर्ण चरणमा रहेको र ईयुले नेपालसँग सहकार्यं गर्दै अगाडि बढ्नेछ । जस्तै नेपालको लागि संघीयता ठूलो परियोजना भएको र संघीयता देशको आर्थिक वृद्धि, विकेन्द्रिकरण र सरकारमा नागरिक सहभागिताको मुख्य आधार स्तम्भ हो । संघीयताले सरकारमा  नागरिक सहभागीतालाई प्रोत्साहन गर्नुका साथै उत्तरदायी र पारदर्शी रुपमा कार्य गर्न सरकारलाई प्रेरित गर्दछ । यसका साथै प्रादेशीक र स्थानीय सरकार मार्फत स्रोत साधन उपलब्ध गराई थप प्रभावकारी सुविधा प्राप्त गर्न सकिन्छ ।

राजदुतको रुपमा यहाँले भोग्नु परेका चुनौतीहरु के–के हुन् ?

कुनै पनि नयाँ देशसँग साक्षात्कार गर्नु आफैंमा एउटा चुनौती हो । मैले ब्रसेल्समा रहँदा भारत, बंगलादेश, नेपाल र भुटान प्रमुखको रुपमा काम गरे तर युरोपमा रहेर काम गर्नु र नेपालमा काम गर्नुमा फरक छ । नेपालमा रहँदा मैले सबैभन्दा पहिले राजधानी काठमाडौं लगायत अन्य स्थानहरु जस्तै पोखरा, लुम्बिनी, नेपालगंज, सुर्खेत, नवलपरासी र कर्णालीको कालिकोट आदि बुझ्ने मौका पाए । यसका साथै नेपालको सबै प्रदेशहरुमा नपुगे पनि ईयुको परियोजनालाई प्रत्यक्ष रुपमा अवलोकन गर्ने इच्छा रहेको छ ।

नेपालबाट तपाईले मिस गर्ने कुनै एउटा चिज के होला ?

यो एकदमै कठिन प्रश्न हो जस्तो लाग्छ । नेपालबाट मैले मिस गर्ने धेरै कुराहरु रहेका छन् । तर, नेपालको समानुपातिकता, यहाँको अथाह स्वागत, सत्कार र विशेष गरी नेपालीहरुलाई मिस गर्नेछु ।

ईयु राजदुत भेरोनीका कोडिसँग गरिएको कुराकानीको भिडियो :

नेपालको वर्तमान प्रेस कानुनको बारेमा यहाँको धारणा के रहेको छ ?

प्रेस तथा मिडियामा अभिव्यक्ति स्वतन्त्रताको अधिकार सबैभन्दा महत्वपूर्ण अधिकार हो । प्रेस माथिको अनावश्यक नियन्त्रणले प्रेस स्वतन्त्रता हनन् हुने मलाई लाग्दछ । यसका लागि ईयुले अभिव्यक्ति स्वतन्त्रतालाई मानव अधिकारको रुपमा स्थापित गर्ने काम गर्दै आईरहेको छ ।

ईयुको नेपालमा क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न रहेका संस्थाहरुलाई सहयोग गरेको भनी आलोचना हुँदैं आईरहेको छ, यस बारेमा यहाँको धारणा के रहेको छ ?

यस प्रश्नमा मैले भन्नुपर्ने एउटै कुरा के हो भने, ईयु कुनै धर्म प्रचारक संस्था होइन । क्रिस्चियन धर्म प्रचारप्रसारमा पनि ईयुको कुनै संलग्नता रहेको छैन । हामी आम जनताको धर्म छनौट गर्न पाउने अधिकारको सम्मान गर्छौ, जसरी हामी अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्छौ ।

(परिवर्तनकर्मी हरिप्रसाद पौडेल र विमला गुरुङको विशेष सहकार्यमा तयार गरिएको ।)

यो पनि पढ्नुहोस्

Federalism is a pillar of economic prosperity: EU ambassador Veronica Cody

प्रतिक्रिया दिनुहोस्