‘मुक्तिनाथ विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानीका लागि सम्झौता



२२ असार २०७६, काठमाडौं

‘मुक्तिनाथ विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले आइतबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता समारोहमा खल्तीका व्यापार विकास अधिकृत आदित्य थापा र मुक्तिनाथ विकास बैंकका डिजिटल बैंकिङ शाखा प्रमुख राजेन्द्र पाण्डेको समेत उपस्थिति रहेको थियो ।

यस सम्झौता अनुसार अब मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

उक्त सम्झौताको बारेमा बोल्दै मुक्तिनाथ विकास बैंकका प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङले भन्नुभयो,“हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका छौँ, जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ ।” हामी खल्ती वालेटसँग सहकार्य गरी हाम्रा ग्राहकहरुमाझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ । यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेको महसुस गरेका छौँ ।

त्यसै गरी खल्तीका निर्देशक ध्रुब अधिकारीले भन्नुभयो, “हामी मुक्तिनाथ विकास बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन । उहाँहरुले बैंकबाट सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुनेछ । ” नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरशिप सँगै हामीलाई खल्ती नगदपैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्